
काठमाडौं । सुनसरी १ मा सुरुवाती अग्रता लिएको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार पराजित भएकी छन् । रास्वपाले एक सिट थपिने हिसाब राखेको सो क्षेत्रको मत गणनाको नतिजा सार्वजनिक भएको छ । जनता समाजवादी पार्टीका अशोककुमार राई विजयी भएका छन् ।
भरखरै सार्वजनिक भएको नतिजा अनुसार राईले १७ हजार ५९ मत ल्याएर विजयी भएका छन् । रास्वपाकी गोमा तामाङ १६ हजार ६०६ मत मात्रै प्राप्त गरिन् । त्यस्तै मतगणनाको क्रममा दोस्रो भएका नेकपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भए ।
यस्तै, राप्रपाका अशोककुमार राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२, अर्का स्वतन्त्र तर्कबहादुर मगरले तीन हजार ८१८, कुमार कार्कीले एक हजार ८६४, मातृकाप्रसाद भट्टराईले एक हजार ७६० मत पाएका छन् ।
समानुपातिकमा मत गणनामा सोमबार रातिबाट रविको पार्टीले फेरि माओवादीलाई उछिनेको छ ।
उता उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीका अनुसार आइतबार दिउँसो सवा ४ बजेबाट पुनः प्रारम्भ गर्ने निर्णय भएपनि अहिलेसम्म सुरु हुन सकेको छैन । उम्मेदवार र पार्टीका प्रतिनिधिसँग मतगणना के गर्ने भन्ने विषयमा छलफल सुरु भएको छ ।
नेपाली कांग्रेस र माओवादीबाहेक सबै दलले पुन: मतदानको माग गरेको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । गणनाको क्रममा पछिल्लोपटक खोलिएको १० वटा ब्यालेट बक्समा उदयपुर १ (२) प्रदेशसभाको १०० मतपत्र भेटिएकाले गणना रोकिएको थियो ।
६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० बक्स खोलिएको थियो । त्यसै क्रममा प्रदेश २ को सय मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् । विवाद सुरु भएपछि सर्वदलीय बैठक बस्ने गरी गणना रोकिएको थियो ।
७६ हजार ७५६ मत खसेको यो क्षेत्रको ६३ हजार ८० मतगणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेसका नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छन् । खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छन् भने एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।