
काठमाडौँ । नेकपा एमालेका नेता सुवास नेम्वाङले आफ्नो अग्रता कायम राखेका छन् । प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १८ हजार ५७६ मत ल्याएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयअनुसार उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले १६ हजार ७२३ मत ल्याएका छन् । नेम्वाङ १ हजार ८५३ मतले अघि छन् ।
हालसम्म ४१ हजार ३४३ मत गणना भएको छ जसमध्ये १ हजार ७६३ मत बदर भएको छ । यता गुल्मी क्षेत्र नम्बर १ नेपाली काँग्रेसका डा.चन्द्र भण्डारीको अग्रता कायमै रहेको छ।
निर्वाचन कार्यालयका अनुसार भण्डारीले २९९८१ मत ल्याएका छन् भने एमालेका प्रदीप ज्ञवालीले २८६८४ मत ल्याएका छन् । यहाँ अन्तर १३०५ रहेको छ।
अब रेसुङ्गा नगरपालिका वडा नम्बर ७ देखि १४ को ९०० मत गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै धनुषा २ को प्रतिनिधिसभा सदस्य पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका छन् ।
उनले नेकपा (एमाले)का उमाशङ्कर अरगरियाभन्दा एक सय ५७ मत बढी ल्याएर निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार कांग्रेसका नेता यादवले २० हजार एक सय १२ मत प्राप्त गर्नुभएको छ भने एमालेका अरगरियाले १९ हजार नौ सय ५५ मत प्राप्त गरेका हुन्। त्यस्तै नेकपा (एकीकृत समाजवादी)का पूर्वमन्त्री रामचन्द्र झाले १३ हजार छ सय पाँच मत प्राप्त गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा)नेपालका गङ्गाराम यादवले १२ हजार नौ सय एक मत प्राप्त गर्नुभएको छ भने जनमत पार्टीका जयनारायण साहले नौ हजार नौ सय ९२ मत प्राप्त गरेका छन् ।
नवनिर्वाचित यादव विसं २०६४ र २०७० को पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा साविकको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।
यादवले नौ महिना कृषिमन्त्री रहेका बेला कृषिमा आधुनिकीकरण गर्न सिँचाइका लागि धनुषामा प्रत्येक किसानको खेतमा सानो सेलोट्युबेल जडान गराएका थिए । त्यस्तै किसानका लागि प्रधानमन्त्री कार्यक्रमअन्तर्गत धानजोन र मत्सय जोन कार्यक्रम ल्याएका थिए ।