धनागढी । बाजुराको काँडा क्षेत्र केन्द्र भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्र भएर आज बिहान ५ बजेर १३ मिनेटमा भूकम्प गएको हो।
४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ।
यसअघि खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा छ जनाको मृत्यु भएको थियो।
आठ जना घाइते भएका थिए। यसैबीच हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।
शुक्रबार पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।