
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशित गरेको छ ।बुधबार आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुने समानुपातिकतर्फको उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशित गरेको हो ।
आयोगले दलहरूले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम अन्तिम बन्दसूची प्रकाशित गरेको छ ।
प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि २ हजार १९९ उम्मेदवार कायम भएका छन् । यसैगरी प्रदेश सभा सदस्य निर्वाचनतर्फ प्रदेश नम्बर १ का लागि ६१६ जना, मधेश प्रदेशका लागि ८६३ जना, बागमती प्रदेशका लागि ७५४ जना, गण्डकी प्रदेशका लागि ३४४ जना, लुम्बिनी प्रदेशका लागि ५७९ जना, कर्णाली प्रदेशका लागि २०० जना र सुदुरपश्चिम प्रदेशका लागि ३५२ जना उम्मेदवार कायम भएका छन् ।
समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका मध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका समेत गरी जम्मा ५५० जना व्यक्तिहरुको नाम आयोगले मंगलबार हटाउने निर्णय गरेको थियो ।
यसैबीच निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सार्वजनिक गरिएको निर्वाचन आचारसंहिता उलंघन गर्ने नेता तथा उम्मेदवारलाई स्पष्टिकरण सोधिरहेको छ । आयोगले आचारसंहिता उलङ्घन गर्ने निर्वाचनमा सहभागी राजनीतिक दल, नेता र विभिन्न निकायलाई आयोगले स्पष्टीकरण सोध्ने देखि सचेतसमेत गराउँदै आएको छ ।
आयोगका अनुसार अहिलेसम्म ५४ वटा स्पष्टीकरण सोधिएको छ । राजनीतिक दल, व्यक्ति र संस्थाहरुलाई स्पष्टिकरण सोधिएको आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता शर्माका अनुसार स्पष्टीकरण सोधिएकामध्ये ३८ को जवाफ दिएका छन् । हालसम्म सोधिएका स्पष्टीकरण अधिकांश २४ घण्टाको अवधि दिएर सोधिएको छ ।
आयोगले हालै सहरी विकासमन्त्री मेटमणि चौधरीलाई बाढी पीडितका नाममा चामल वितरण गरेको सम्बन्धमा २४ घण्टे स्पष्टीकरण दिन निर्देशन दिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ क्षेत्र ६ का प्रतिनिधिसभाका उम्मेदवार शिशिर खनाललाई स्पष्टीकरण सोधिएको थियो । त्यसैगरी, आचारसंहिता उल्लङ्घन हुनेगरी प्रचारप्रसार गरेको भन्दै बारा क्षेत्र नं ४ का कृष्णकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका जिल्ला अध्यक्ष दुर्लभ थापालाई स्पष्टीकरण सोधेको थियो ।
नेकपा (एमाले) का तर्फबाट बझाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐनबहादुर महरलाई जिल्लास्तरीय खुला प्रतियोगिताका विजेतालाई निर्वाचन आचारसंहिता विपरीत प्रथम पुरस्कार भनी रु ४१ हजार प्रदान गरेको भनी सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
आयोगले कात्तिक ७ गते निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउनु सरकार तथा प्रदेश सरकारको समेत मुख्य जिम्मेवारी भएकाले निर्वाचन प्रचार प्रसारका सम्बन्धमा निर्वाचन आचार संहिताको पालना गर्न र गराउन सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको थियो ।