काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्री र सांसदहरुले संघीय सरकारविरुद्ध धर्ना थालेका छन् ।
प्रदेश प्रहरी समायोजनको माग गर्दै आइतबारदेखि प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना सुरु गरिएको हो । एक सातासम्म चल्ने धर्ना कार्यक्रम हरेक दिन दुई घण्टा चल्ने जनाइएको छ ।
पहिलो दिन आइतबार पौने १२ बजेदेखि पौने दुई घण्टासम्म चल्नेछ । संविधानमा भएको प्रहरीसम्बन्धी व्यवस्थालाई लिएर संघ र प्रदेश सरकारबीच द्वन्द्वको स्थिति देखा पर्दै आएको छ।
पाँच वर्षसम्म शान्त रहेका प्रदेश सरकारले निर्वाचन नजिकिन थालेसँगै प्रदेश प्रहरी आफू मातहत माग्न थालेका छन् ।
तर संघीय सरकारले प्रदेश प्रहरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आनाकानी गर्दा स्थिति द्वन्द्वोन्मुख देखिएको हो। संविधानप्रदत्त अधिकार उपयोगका लागि प्रदेश सरकारहरूले उत्कट चाहना देखाइरहेका छन्।