काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् ।
बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
उक्त प्रकरणमा छानबिनका लागि संसदीय विशेष समिति गठन भएपछि उनले त्यसै दिन राजीनामा दिएका थिए ।
तर संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न सकेन भने प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा दोहोरयाएका हुन् ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेको उल्लेख छ ।