काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध सिठी जुलुस निकालेको छ । पार्टीको आयोजनामा मंगलबार दिउँसो काठमाडौँमा जुलुस निकाएिको हो ।
शान्ति बाटिकाबाट सुरु भएको सिठी जुलुस बन्तपुर हुँदै घण्टाघर, जमल हुँदै पुनः शान्तिबाटिकामै पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पार्टी निकट अखिल क्रान्तिकारीका संयोजक मिलन राईले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर
जनतामारा काम गरेको बताए । उनले इन्धनको मूल्य बढेपछि सबै बस्तु तथा क्षेत्रको मूल्यवृद्धि हुने भएकोले जनता प्रत्यक्ष मारमा पर्ने बताए ।
इन्धनमा लगाएको अनावश्यक कर हटाएर मूल्य समायोजना गर्न सरकारसँग माग गर्दै राईले जनताको आवाज नसुनेर सरकारले मनपरी मूल्यवृद्धि गरिरहे आन्दोलनको आँधीबेहरी आउन सक्ने चेतावनी दिए । नेकपा बहुमतले महंगी र राष्ट्रियताको सवालमा सडक संघर्ष गर्ने निर्णय समेत गरेको छ ।
नेकपा बहुमतले मूल्यवृद्धि फिर्ताको लागि चरणवद्ध संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ । पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शनले विज्ञप्ति जारी गरेर सिठी जुलुसदेखि चक्का जामसम्मका विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।
प्रवक्ता सुदर्शनले जारी गरेकाे विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसरी विभिन्न शीर्षक बनाएर चर्को मूल्यमा उपभोक्तालाई पेट्रोलियम पदार्थ किन्न बाध्य पार्नु भनेको जनतामाथि दलाल संसदीय व्यवस्थाले लुटखसोट गर्नु हो । यसअघि पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा हाम्रो पार्टीले भनेको थियो– पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा यातायात, ढुवानी, औद्योगिक तथा कृषि उत्पादन, स्वास्थ्य र शिक्षामा खर्च पनि स्वतः बढ्ने भएकाले यो बृद्धिले आमजनजीवन नै नकारात्मक रूपले प्रभावित हुन पुगेको छ । जनताले दैनिक जीवन गुजार्नका लागि मात्र पनि आफूसँग भएको चलअचल सम्पत्ति बेच्नुपर्दा गरिबीको सङ्ख्या बढ्दै गएको छ । तसर्थ हाम्रो पार्टी सरकारलाई पेट्रोलियम पदार्थलगायत सबै उपभोग्य वस्तुको मूल्य तुरुन्त घटाउन जोडदार माग गर्दछ । सरकारले बेलगाम पेट्रोलियम पदार्थको मूल्य बढाएकाले हाम्रो पार्टीले तपसिलका आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । उक्त कार्यक्रममा आमजनताको सहयोग, समर्थन र सक्रिय सहभागिता रहने अपेक्षा पनि राखेका छौँ ।’
जसमा २०७९ जेठ १० गते सिठी जुलुस, २०७९ जेठ १२ गते छड्के जुलुससहित कोणसभा, २०७९ जेठ १४ गते देशैभरिका आयल निगम कार्यालयहरूमा धर्ना, २०७९ जेठ १६ गते काठमाडौँमा प्रधानमन्त्री निवास बालुवाटार र सबै प्रदेशका मुख्यमन्त्री कार्यालयमा धर्ना, २०७९ जेठ १८ गते सिंहदरबार र पालिका कार्यालयहरूमा धर्ना, २०७९ जेठ २० गते देशव्यापी मशाल जुलुस र २०७९ जेठ २२ गते १० देखि ११ बजेसम्म चक्काजाम रहेका छन् ।