दाङ । चुनावमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सहयोग गरेको नेताहरुलाई नेकपा माओवादी केन्द्रले कारवाहीको सिफारिस गर्न थालेको छ । सल्यानको बागचौर नगरपालिकाका निवर्तमान मेयर लोकमान बुढाथोकीलाई कारवाहीको सिफारिस गरिएको छ ।
शनिबार बागचौरमा बसेको नगर कमिटीको तेस्रो बिस्तारित बैठकले माओवादी केन्द्रको विधान बमोजिम उक्त कारबाहीको लागि सिफारिस गरेको जनाएको छ। नगर कमिटी अध्यक्ष शोभाराम भण्डारीका अनुसार कारबाही डिल्ली वली, कृष्ण खड्कालगायत पनि सिफारिस गरिएको छ ।
नगरपालिकाका वडा नं. ८ र ९ को चुनावी कमान्ड इन्चार्ज समेत रहेका बुढाथोकीले नेकपा एमाले र नेपाली काँग्रेससँग मिलेर आफ्नै पार्टीका उम्मेदवारलाई हराएको जारी विज्ञप्तिमा उल्लेख छ ।
शनिबार बागचौर नगर कमिटीले बुढाथोकीलाई हदैसम्मको कारबाही माग गर्दै जिल्ला समन्वय समिति सल्यान र पार्टीको कर्णाली प्रदेश समिति समक्ष सिफारिस गरेको छ ।
यसैबीच अछामको रामारोशन गाउँपालिकामा पनि स्थानीय माओवादी नेताहरुले नेपालीसँग मिलेर आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सहयोग गरेको एक नेताले बताएका छन् । त्यसमा माओवादी केन्द्रका एक केन्द्रीय सदस्यको संलग्नता समेत रहेको बताइएको छ ।
प्रदेशभरीको चुनाव सम्पन्न भएपछि समिक्षा बैठक बसेर अन्तरघाती नेताहरुलाई कारवाहीको सिफारिस गर्ने तयारीमा माओवादी केन्द्र अछामको तयारी छ । माओवादीको आधार क्षेत्रको रुपमा रहेका रामारोशन पार्टीका उम्मेदवार पहल साउदलाई हराएर नेपाली काँग्रेसका मानबहादुर साउदलाई पालिका अध्यक्ष बनाएको आरोप लागेको छ ।
यसैबीच अाइतबार विहानसम्म ६ सय ९५ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय ४८ नगरपालिका र ४ सय ४७ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो । यो सँगै झन्डै ९२ प्रतिशत पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म ३२ हजार १ सय ५२ जनप्रतिनिधि निर्वाचित भएका छन् । ७ सय ५३ वटा पालिकामा ३५ हजार २ सय २१ जनप्रतिनिधि छान्न गएको वैशाख ३० गते चुनाव भएको थियो।
मतगणना भएका नगरपालिकामध्ये मेयर पदमा नेपाली कांग्रेसले १ सय २३ वटामा जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा १ सय ८४ वटामा जितेको छ । नगरपालिकामा १४ र गाउँपालिकामा ४ वटामा कांग्रेसको अग्रता छ ।
त्यस्तै, नेकपा एमालेले ६७ नगरपालिका र १ सय २१ गाउँपालिका जितेको छ । एमाले १४ वटा नगरपालिकामा र २ वटा गाउँपालिकामा अगाडि छ । नेकपा (माओवादी केन्द्र) ले २४ नगरपालिका र ९६ वटा गाउँपालिकामा प्रमुख पद जितेको छ । तीन वटा नगरपालिकामा माओवादीको अग्रता छ ।
नेकपा (एकीकृत समाजवादी) ले ९ नगरपालिकामा मेयर जितेको छ । २ वटामा उसको अग्रता छ । स्वतन्त्रसहित अरु दलले २५ ठाउँमा मेयर पद जितेका छन् । उपमेयरमा नेपाली कांग्रेसले ९४ र उपाध्यक्षमा १ सय ८७, एमालेले ९१ उपमेयर र १ सय २२ उपाध्यक्ष, माओवादी केन्द्रले ३२ उपमेयर र ९३ वटामा उपाध्यक्ष जितेको छ ।
त्यस्तै, जनता समाजवादी पार्टी नेपालले उपमेयरमा ११ र स्वतन्त्रसहित अन्य दलले २० ठाउँमा जितेका छन् । उपाध्यक्षमा जनता समाजवादी पार्टीले १८ र स्वतन्त्रसहित अन्यले २७ ठाउँमा जितेका निर्वाचन आयोगको विवरण छ । पालिकाको वडाध्यक्ष पदमा नेपाली कांग्रेसले २ हजार ५ सय २६ वटामा जित हासिल गरेको छ । नेकपा (एमाले) ले २ हजार ३३ वटामा जितेको छ ।
माओवादी केन्द्रले वडाध्यक्ष पदमा १ हजार २७ वटामा जितेको छ । जनता समाजवादी पार्टीले २ सय ६७ वटामा वडाअध्यक्ष जितेको छ । स्वतन्त्रसहित अन्य ५ सय ५५ वटामा वडाअध्यक्ष विजयी भएका छन् ।


अनलाइन डबली


