![](https://onlinedabali.com/wp-content/uploads/2022/05/renu-bijay.jpg)
चितवन ।सबैको चर्चामा र चाँसो भइरहेको भरतपुर र काठमाडौँ महानगरपालिकामा सुरुवाती अग्रता झनझन फराकिलो बन्दै गएको छ । शनिबार विहानसम्म आउँदा नेकपा माओवादी केन्द्रीका उम्मेदवार रेणु दाहालले शुक्रबारको भन्दा मतान्तर फराकिलो बनाएकी छन् । पछिल्लो मत गणनाको परिणाम अनुसार रेणुले २५ हजार भन्दा बढी मत लिएकी छन् ।
मत गणनास्थलमा रहेका माओवादी केन्द्रका एक जिल्ला नेताले दिएको जानकारीअनुसार रेणुले विहान ६ बजेसम्म २५ हजार मत प्राप्त गरिसकेकी छन् । त्यस्तै, नेकपा एमालेका विजय सुवेदीले २१ हजार नजिक मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ ।
मत गणनास्थलमा रहेका एमाले नेताहरुले मतान्तर झनझन बढेको भन्दै अब रेणुलाई हराउन नसकिने बताउन थालेका छन् । काँग्रेसकै बागीले भोट काट्ने र आफूले जित्ने आशा रहेका एमाले नेताहरुले आफ्नै मतदाताहरुले रेणुलाई भोट हालेको बताउँन थालेका छन् । अहिले पनि मेयरमा रेणुलाई अन्य सबै पदमा सूर्यमा छाप हानेका मतपत्र आइरहेका छन् ।
त्यसैगरी काठमाडौं महानगरपालिकामा स्वतन्त्र बालेन्द्र साहले ३१ हजार १५ मत प्राप्त गरेका छन् । उनले नेकपा एमालेका केशव स्थापितको भन्दा झण्डै दोब्बर हो । त्यस्तै, गठबन्धनका उम्मेदवार सिर्जना सिंहले स्थापितसँगको मतान्तर घटाएकी छन् । स्थापितले १६ हजार ५ सय २७ मत ल्याउँदा सिंह १६ हजार २ सय २४ मत ल्याएकी छन् । त्यस्तै, उपमेयरमा एमालेका सुनिता डङ्गोल २६ हजार ५ सय ७५ मतसहित अग्रस्थानमा कायमै राखेकी छन् ।
उता पोखरा पोखरा महानगरपालिका एकीकृत समाजवादीका धनराज आचार्यले ३१ हजार ५ सय १७ मत ल्याउँदै आफ्नो अग्रता कायमै राखेका छन् । नेकपा एमालेका कृष्णबहादुर थापाले २८ हजार २ सय २२ मत ल्याएका छन् । उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङको अग्रता छ ।
त्यसैगरी ललितपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार चिरीबाबु महर्जनले २२ हजार ८ सय २० मत ल्याएका छन् । उनको एमालेका हरिकृष्ण व्यञ्जनकारसँगको मतान्तर बढेको छ । हरिकृणले शनिबार विहानसम्म १३ हजार १ सय २४ मत ल्याएका छन् । उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्यको अग्रता कायमै छ ।
वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी राजेशमान सिंहले २४ हजार ३ सय १६ मत प्राप्त गरेका छन् भने एमाले विजय सरावगी १२ हजार ४ सय ८९ मत मात्रै पाएका छन् । उपमेयरमा कांग्रेसका इम्तियाज आलमको अग्रता कायमै छ ।
६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन् । अहिले पाँच महानगरपालिकाको मतगणना भइरहेको छ ।