आज :

निर्वाचन, पार्टीहरू र आमूल परिवर्तन

  • कृष्णहरि भट्ट

नेपाल संसदवादी व्यवस्थाको उच्चतम प्रयोग पहिलो हुने निर्वाचित हुने अल्पमतले शासन गर्ने प्रणालीको स्थानीय तहको निर्वाचनको गरमागर्मीमा छ । यो निर्वाचनमा मूलतः दुई पक्ष छन् । दुबै पक्ष भने एकै प्रवृत्तिका हुन् । एउटा पक्ष भनेको नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा छ भने अर्को पक्ष भनेको बहुमतको आफ्नो सरकार टिकाउन नसक्ने एमालेका अध्यक्ष तथा पूर्व–प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वमा छ । देउवासँग माके, एस, जसपा, राजमोको एकआपसको टेको गठबन्धन छ भने ओलीसँग लिङ्गदेन र थापाको टेको गठबन्धन रहेको छ । यो व्यवस्थालाई मान्ने र नमान्नेहरू पनि यो निर्वाचनमा आफ्नो अस्तित्व देखाउन तछाड–मछाड गरिरहेका छन् । स्वतन्त्र उम्मेद्वारीको बाढी नै चलेको छ । यसको अर्थ पनि यो सत्ताको विकल्पको खोजी हो ।
नेपाली समाजको परिवर्तनको आन्दोलन देशी–विदेशी प्रतिक्रियावादीसँगको सम्झौताबाट अगाडि बढेको छ; जसका कारणले गर्दा नेपाली समाजको प्रगति–उन्नतिमा आमूल परिवर्तन हुन सकेन । २०१५ सालदेखि हुने गरेका निर्वाचन र यसले दिएको परिणाम कहिल्यै पनि जनपक्षीय हुन सकेनन् । भएका परिवर्तनले मात्रामा मात्र परिवर्तन गर्न सक्यो, गुणमा परिवर्तन गर्न सकेन । व्यवस्था परिवर्तन भयो, जनताको अवस्था परिवर्तन हुन सकेन । जनताको अवस्था परिवर्तन गर्न नसक्ने दलीय व्यवस्थाप्रति जनताको विश्वास घट्दो छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक निराशा व्याप्त छ । किन यस्तो भयो ? के कारणले गर्दा भयो ? हामीले गरेका आन्दोलन र संघर्षमा के कमी रहे ? मतदानमा जानुअगाडि यसबारेमा गहिरो विमर्श हुन जरुरी छ ।

पहिलो विमर्श
सामन्तवादको अन्त्य गरेर पुँजीवादको स्थापना गर्न नेपाली काँग्रेस स्थापना भएको थियो । उसको सम्झौतापरस्त नीतिका कारण आज ऊ सामन्ती दलाल तथा नोकशाही दलदलमा फसेको छ । यो निजीकरण, उदारीकरण र भूमण्डलीकरणको पक्षपाती छँदै थियो । उसका कारण समेतले एमसीसी पास गरेर आज देश अमेरिकी साम्राज्यवादको रणनीतिक क्रीडास्थल बनाउने कारण बन्यो । यो नेपाली स्वाधीनताप्रेमी जनताको स्वाभिमान बन्धक बनाउने कार्य भएको छ । यसले गर्दा नेपाली काँग्रेसको नेतृत्वमा हुन पर्ने प्रगतिशील पुँजीवादी विकासको सम्भावनासमेत समाप्त भएर गएको छ ।

दोश्रो विमर्श
सामन्तवाद, देशी–विदेशी प्रतिक्रियावाद, भारतीय एकाधिकार पुँजीवाद तथा एङ्गलो अमेरिकन साम्राज्यवादको अन्त्य गरेर नयाँ जनवादी गणतन्त्र नेपालको स्थापनाका लागि नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको थियो । आफ्नो उद्देश्यमा यो पार्टी पनि दुईवर्षदेखि टिक्न सकेन र संशोधनवादी मनमोहनहरू हावी हुन पुगे । त्याग, संघर्ष र बलिदानका गाथाले भरिपूर्ण नेपालको कम्युनिस्ट आन्दोलन कहिले दक्षिणपन्थी अवसरवादमा त कहिले उग्रवामपन्थी दुस्साहसवादी भड्कावमा प्रभावी बन्यो । पटक–पटक यो आन्दोलनलाई दक्षिणपन्थी विसर्जनमा पतन गराइए पनि यो आन्दोलन मरिसकेको भने छैन ।

तेश्रो विमर्श
आजको युग समाजवाद र साम्राज्यवादवीचको संघर्षकै युग हो । अहिलेको विश्व तीन तहको उत्पादन सम्बन्ध रहेको विश्व हो । पहिलो, उच्च तहका जी आठहरू हुन । दोश्रो, मध्यम तहका र तेश्रो भनेको न्यून तह अर्थात् तेश्रो विश्वका देशहरू, जसमा नेपाललागयत एसियाली, अफ्रिकी मुलुकहरू छन् । उच्च उत्पादन सम्बन्ध भएका देशहरूले मध्यम र न्यून उत्पादन सम्बन्ध भएका मुलुकहरूमाथि शोषण उत्पीडन थोपरिरहेका छन् भने मध्यम उत्पादन सम्बन्ध भएका मुलुकहरूले न्यून उत्पादन सम्बन्ध भएका मुलुकहरूमाथि शोषण र उत्पीडन थोपरिरहेका छन् । यसरी न्यून उत्पादन सम्बन्ध रहेका मुलुकहरू भने दोहोरो शोषण उत्पीडनको चपेटामा परेका छन् ।

चौथो विमर्श
आजको युग विज्ञान र प्रविधिको युग हो । श्रमिक सर्वहारावर्ग यसका जननी हुन् । यसको विकासको गतिले मानव समाजलाई सुगम र सक्षम बनाइदिएको छ । तर, यसरी सर्वहारा मजदुरवर्गले निर्माण गरेका आविस्कारहरू पुँजीपतिको कब्जामा छ, जसका कारण समाजमा हुने गरेको शोषण र शासनमा परिवर्तनहरू आएका छन् । उत्पादन र उत्पादक शक्तिमा फेरबदल भएको छ । उत्पादनका साधनमाथिको स्वामित्वमा भने परिवर्तन भएको छैन । सम्पत्तिमाथिको निजी स्वामित्व कायमै छ र यसको संरक्षणका लागि सम्पूर्ण राज्यसत्ताको अवयवहरूको प्रयोग गरिएको छ । र पनि, पुँजीवादीहरूले आफ्नो संकट टारिरहेका छन् । पर सारिरहेका छन् । समाधान गर्न सकिरहेका छैनन् ।

पाँचौं विमर्श
रूसी अक्टोवर क्रान्तिले संसारमा नयाँ युगको सूत्रपात ग¥यो । औपनिवेशिक विश्व सम्बन्धलाई स्वतन्त्रता प्रदान ग¥यो । किसान र मजदुरको राज्यसत्ता हुन्छ र उनीहरूले पनि शासनसत्ता सञ्चालन गर्न सक्छन भन्ने कुरा स्थापित भयो । र, मानव समाजमा रहेका विभेद र शोषणको अन्त्य गर्न एक स्तरसम्म सफल भयो । तर, स्टालिनको अवसानपछि खु्रचोबी संशोधनवाद रूसी समाजवादको मात्र अवसान गराएन; विश्व कम्युनिस्ट आन्दोलनमै फाटो ल्याउने कारण बन्यो । क्रान्तिकारी उद्देश्यमा दक्षिणपन्थी संशोधनवाद कति घातक हुन्छ, यस घटनाबाट बुझ्न सकिन्छ । रूसी संशोधनवादविरूद्ध माओले चलाउनुभएको संघर्ष महान् बहसको नामले विख्यात छ । त्यसपछि यो स्तरमा वैचारिक संघर्ष कहीँ कतै विकास भएको छैन । बरू चिनियाँ क्रान्तिको सन्दर्भमा माक्र्सवाद–लेनिनवादको आधारमा विकास भएको माओ विचाधारालाई माओवादको नाममा भएका दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी राज्यसत्ता स्थापनाका लागि संसारभरि गरिएका संघर्षहरू कि त सुषुप्त भएर सकिए, कि त अगाडि बड्न सकेनन्, कि त सत्तारोहण गर्दै दक्षिणपन्थी अवसरवादमा विसर्जन भए वा पु¥याइए । तेश्रो विश्वको क्रान्तिको हतियारको रूपमा विकास हुन सक्ने माओ विचारधारालाई किन माओवाद भनियो ? बद्नाम गराइयो ? यसको समाधानबिना अगाडि बढ्न सम्भव छैन ।

छैटौं विमर्श
माओको अवसान र रूसी समाजवादको विघटनपछि विश्वव्यवस्थामा काफी हदसम्म बदलावहरू देखा परे । निजीकरण, उदारीकरण र भूमण्डलीकरणजस्ता अमेरिकी एकल साम्राज्यवादका नीतिहरू प्रभावी बने । साम्राज्यवादी शिविरबाटै युरोपियन यूनियनको गठन र यूरोको उदयले विश्वबजारको डलरको एकल प्रभुत्वलाई चुनौती दियो । यसपछि गठन भएको ब्रिक्स (रूस, चीन, भारत, दक्षिण अफ्रिका र ब्राजिल) ले विकास साझेदारीका लागि पूर्वाधार विकास बैंक स्थापना गरे । नब्बेको दशकपछि एकधुव्रीय विश्वव्यवस्था कायम भयो भन्ने अमेरिकी साम्राज्य बहुधुव्रमा बाँडिन पुग्यो । यस्तैमा चीनको जल, स्थल र हवाईमार्गबाट संसार जोड्ने योजना बनायो । यसको प्रतिउत्तरमा अमेरिकी साम्राज्यवादले आईपीएस, एमसीसी र क्वाडजस्ता संरचना निर्माण गरेर चीन घेराउ योजना बनायो । यसरी अमेरिकी साम्राज्यवाद र यसका मतियार तथा चिनियाँ विश्व बजारीकरणबिचको शीतयुद्ध अहिले चलिरहेको छ ।

सातौं विमर्श
विश्व विकासका प्रवृत्तिहरू एकनासका छैनन् । समाजवाद उन्मुख राज्यसत्ता भएका मुलुकहरू र पुँजीवादी राज्यसत्ता भएका मुलुकहरूको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विकासका गति र सूचचाङ्क नै भिन्न छ । युरोपियन, अमेरिकन साम्राज्यले खडा गरेको विकास पद्धति र विगतको रूस र चीनले खडा गरेको विकास पद्धतिको तुलनात्मक अध्ययन गरियो भने यसका भिन्नताहरू प्रस्ट हुन्छ । झन्डै एक हजारवर्ष पुरानो युरोपियन साम्राज्य र दुईसय तेत्तीसवर्ष पुरानो अमेरिकनलगायतका मुलुकहरूको विकास र सत्तरी वर्षको चिनियाँ विकासको गति र सूचचाङ्क हेरियो भने कुन प्रणाली सही हुन्छ भन्ने कुरा थाहा लाग्दछ । चीनको अर्थतन्त्र अमेरिकी अर्थतन्त्रपछिको दोश्रो ठूलो अर्थतन्त्र हो । चीनको अर्थतन्त्रको विकासको गति यही गतिमा मात्र कायम रह्यो भने पनि अबको दश वर्षमा विश्वको पहिलो अर्थतन्त्र बन्दैछ । विगत सत्तरी वर्षमा विदेशीको ऋणमा डुबेको निर्धन मुलुकलाई विज्ञान र प्रविधियुक्त बनाउँदै यो स्थानमा पु¥याउनु अद्भूत घटनाको रूपमा विश्व मानचित्रमा छ । तेश्रो विश्वका मुलुकका लागि प्रेरणाको श्रोतको रूपमा छ । यहाँ हामीले यो पनि विर्सन हुँदैन कि चीन समाजवादतिर जान्छ कि पुँजीवादतिर, ऊ दोसाँधमा छ । यसरी समाजवाद उन्मुख राज्यप्रणाली नै मानव समाजको विकासका लागि उत्तम प्रणाली प्रमाणित भएको छ । तर, विश्व साम्राज्यवाद मानव समाजको यो विकास र परिवर्तनको गतिलाई रोक्न चाहन्छ ।

आठौं विमर्श
नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद उन्मुख राज्यसत्ता स्थापनाका लागि थियो । समाजमा रहेका सामन्ती तथा प्रतिक्रियावाद, भारतीय एकाधिकार पुँजीवाद तथा अमेरिकन एङ्गलो अमेरिकन साम्राज्यवाद क्रान्तिका लागि रुकावट बन्यो । यसलाई परास्त गर्ने शक्ति र सामथ्र्य निर्माण गर्नुपर्नेमा तत्कालीन कम्युनिस्ट पार्टीको नेतृत्व मण्डली सम्झौतापरस्त हुन पुग्यो । सुरुवातीकालमा कोही दक्षिणपन्थी अवसरवादमा विसर्जित भए भने कोही उग्रवामपन्थी दुस्साहसवादी हुँदै विसर्जित भए । आजसम्म आइपुग्दा नेपालमा नयाँ जनवादी क्रान्ति गर्नुपर्छ भन्नेहरू कतिपयले यो नीति नै छोडे भने कतिपय विभिन्न चिरामा विभाजित छन् । एक हुनुपर्ने वस्तुगत अवस्था हुँदा पनि मोर्चाबन्दीसम्म नहुनु समस्याको रूपमा छ ।

नवौं विमर्श
अहिले नेपालको शासनसत्ता सामन्ती दलाल तथा नोकरशाही पुँजीवादीको नेतृत्वमा चलिरहेको छ । यो संसदवादी व्यवस्थामा आधारित छ । यो व्यवस्थाको मूल चरित्र भनेको मानव तथा प्राकृतिक संसाधन बेच्ने हो । देशभित्र चरम कर थोपर्ने हो । निष्ठा, इमानदारिता, अनुशासन, विचार, सिद्धान्त, मूल्य, मान्यता सत्तासीनहरूमा पूर्णतः स्खलित भएको छ । सत्तापक्ष प्रतिपक्ष एउटै हुन् । यिनीहरूमा आधारभूत रूपमा भिन्नता छैन ।

दशौं विमर्श
प्रतिक्रियावादी संसदीय निर्वाचन नेपाली समाजमा रहेका उल्लिखित समस्याको समाधान दिन सक्दैन । विगत २०१५ सालदेखि अहिलेसम्म हुने गरेका निर्वाचनहरूले प्रमाणित गरिसकेका छन् । क्रान्ति भनेको मात्रात्मक परिवर्तन मात्र होइन, गुणात्मक परिवर्तन हो । निर्वाचनबाट आउने नतिजाले गुणमा परिवर्तन गरेको कहीँ कतै इतिहास छैन । सबै संसदवादी पार्टीहरू यही चलिरहेको प्रणालीमा आफ्नो अस्तित्व देख्दछन्; जसबाट देश र जनताको भलाई असम्भव छ । यदि यस्तो भ्रमबाट मुक्त हुन आवश्यक छ भने निर्वाचन प्रणालीसँगै यो व्यवस्थाको विकल्पमा उभिन सक्नुपर्छ ।

निष्कर्ष
माथि केही सांकेतिक रूपमा राजनीतिक शक्तिको चरित्र चित्रण गरिएको छ । वर्तमान संसदवादी सत्ता क्रान्तिकारी परिवर्तन वा क्रान्तिका लागि वाधक छ । यो देशी–विदेशी प्रतिक्रियावादीहरूको टेकोपुडोमा टिकेको छ । जानी–नजानी परिवर्तनकामी जनता आप्mनो हित विपरीतका शक्तिहरूको सहयोगी बन्न पुगिरहेका छौं । यस्ता प्रकारका भ्रामक प्रपञ्चबाट मुक्त हुन आवश्यक छ । नेपाली समाजमा रहेका युगौंदेखिका समस्याहरूको समाधान गर्न र आमूल परिवर्तनको कार्यभारलाई पूरा गर्न नयाँ जनवादी क्रान्तिको आवश्यकता र सान्दर्भिकता अझ बढेर गएको छ । क्रान्तिका लागि संयुक्त जनआन्दोलन–जनविद्रोहको आधार र तयारीको आवश्यकता छ । नेपाल कम्युनिस्ट पार्टी रूपान्तरणसहितको कम्युनिस्ट पार्टी र आन्दोलनको पुनर्गठनको दिशाका सक्रिय छ । यो व्यवस्थाको विकल्पको खोजी गरिरहेका क्रान्तिकारी शक्तिसहितको रणनीतिक संयुक्त मोर्चा यसको प्रस्थानविन्दु हो ।
(लेखक, नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा सङ्गठन विभाग प्रमुख हुनुहुन्छ, स.)

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal