काठमाडौं । नेपाली काँग्रेसका एक उम्मेदवारले हजारका नोटसहित मतदाताको खुट्टामा ढोग गर्दै भोट माग्दै गरेको फोटो सामाजिक संजालमा भाइरल भएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– १० का वडा अध्यक्षका कांग्रेस उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारका नोट राखेर ढोग गरेर भोट मागेका हुन् । उनी यतिबेला चुनावी घरदैलो अभियानमा छन् ।
खनालले हजारको नोटसहित भोट मागेको फोटो सार्वजनिक भएपछि उनले आफ्नी फुपुलाई रुपैयाँ राखेर ढोग गरेको बताएका छन् । उनले उक्त भनाई अहिले भने फेसबुकबाटै हटाएका छन् ।
पहिलो पोष्ट हटाउँदै फेसबुकमा लेखेका छन् –यहाँहरू सबैलाई हार्दिक नमन तथा जय नेपाल । मेरी फुपू दिदीको हातबाट टीका लगाए पछि मैले मेरी दिदीको पाउ ढोक्दै गर्दा बिना दक्षिणा कसरी ढोग गरूँ ? आादर र सम्मान गर्नु मेरो धर्म हो। यो सकारात्मक संस्कारलाई पनि प्रंचार प्रसार गरिदिनु भएकोमा यहाँहरू सबैलाई हार्दिक धन्यवाद ।
स्थानीयका अनुसार खनालले मतदाताको घरघर पुगेर घटीमा एक हजार रुपैयाँको नोटसहित भोट मागिरहेका छन् । खनालले निर्वाचन आचारसंहिता विपरित कार्य गरेको भएपनि निर्वाचन आयोगले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । त्यस्तै, नेपाली काँग्रेसले पनि यसबारे बताउन चाहेको छैन ।
खनालले नोटसहित भोट मागेपछि विभिन्न राजनीतिक पार्टीका नेताहरुले विरोध जनाएका छन् ।