काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले आफ्नो पार्टी चुनावमा जाने बताएका छन् । विहीबार निर्वाचन आयोगबाट बाहिरिने क्रममा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै विश्वकर्माले भने, “के छ निर्वाचन आयोगको, परामर्श गर्न आएका हौं, चुनावमा त जान्छौँं, त्यसबारे के छ भने बुझ्न आएको ।”
हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकमा महासचिव नेत्रविक्रम चन्दले चुनावमा सहभागी हुनेसहित प्रस्ताव ल्याएका थिए । तर, बहुमत केन्द्रीय सदस्यले फरक मत राखेपछि चुनावमा पनि सहभागी नहुने र बहिस्कार पनि नगर्ने मध्यमार्गी निर्णय गरेको थियो । पार्टीका नेता कार्यकर्ता चुनावमा नजाने कोही जान चाहे राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिने पार्टीले निर्णय गरेको थियो ।
तर, सचिवालय सदस्य समेत रहेका विश्वकर्माले चुनावमा जान्छौं र त्यसको लागि छलफल गर्न आयोगमा आएको सार्वजनिक रुपमा बताएका छन् ।
आयोग स्रोतका अनुसार दल दर्ता सम्बन्धी कुनै पनि प्रक्रिया बाँकी नरहेको विश्वकर्मालाई जानकारी दिएको छ । आयोगले निर्वाचन आचारसंहित समेत जारी गरेको अवस्थामा दल दर्ता गर्न नसकिने विश्वकर्मलाई जवाफ दिएको छ ।
पार्टीका अर्का सचिवालय सदस्य धर्मेन्द्र बास्ताेलाले सार्वजनिक रूपमा पार्टी अाैपचारिक रूपमा चुनावमा नजाने एमसीसी विराेधी र देशभक्त उम्मेदवारी सहयाेग गर्ने बताएका थिए । तर अाज विश्वकर्माले चुनावमा जाने बताएका छन् ।