काठमाडौँ । रुसले युक्रेनमा सैन्य कारवाही थालेको आज ३२ दिन भएको छ । रुसले पहिलो चरणको कारवाही सफल भएको भन्दै अब दोस्रो चरणको कारवाही सुरु गर्ने बताएको छ । रुसी अधिकारीले अब युक्रेनका पूर्वी क्षेत्रलाई मुक्त गर्ने बताएका छन्।
रुसको रक्षा मन्त्रालयले युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको र युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको दाबी गरेको छ । पहिलो चरणमा युक्रेनको सैन्य शक्ति कमजोर बनाउने र दोस्रो चरणमा मुक्त गर्ने उद्देश्यले रुस लिएको बताइएको छ ।
रुसी सेनाका कमाण्डर सर्गेई रुदस्कोईले भने, “हाम्रो कारबाहीको पहिलो चरणको मुख्य काम पूरा भएको छ ।” उनले युक्रेनी सशस्त्र फौजको युद्धक्षमता ठोस रूपमै कमजोर भएको बताए । अबको मुख्य लक्ष्य पूर्वी क्षेत्रलाई मुक्त गर्नु रहेको उनले बताए ।
अब रुसले युक्रेनका पूर्वी क्षेत्रसहित मुख्य शहर नियन्त्रणमा लिने गरी हमला गर्ने भारतीय रक्षा विज्ञहरु बताउँछन् । रुसी सेनाले किएभमा पनि हमला जारी राख्दै घेराउलाई साँधुरो बनाउँदै लगेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सेनाले रुसको योजना असफल बनाईदिएको दाबी गरेका छन् । युद्धक्षेत्र रहेका भारतीय पत्रकार राजेश पावरले भने यो कुरा स्वीकार गर्दैनन् । रुसले पहिलो चरणमा युक्रेनको शक्ति कमजोर बनाउन मात्रै हमला गरेको र अब त्यो भन्दो ठूलो संख्यामा हमला हुन सक्ने पावर बताउँछन् ।
रुसको दाबीलाई पत्रकार राजेशले स्वीकार गर्दै युक्रेनको सैन्य शक्तिमा ठूलो क्षति पुगेको र अलग थलग नै भएको र यो भन्दा ठूलो हमला रुसले गरेमा लड्न नसक्ने बताउँछन् ।
रुसले अझै पनि युक्रेनलाई कब्जा गर्ने बताएको छैन । उसले युक्रेनले रुसको सुरक्षा चाँसोलाई चुनौती दिएको भन्दै निशस्त्रीकरण गर्ने बताउँदै आएको छ । तर, देश पूरै ध्वस्त भइसक्दा पनि जेलेन्स्की नेटो र इयूसँग सैन्य सहयोग मागिरहेका छन् ।
यसैबीच रुसले एक महिनाको सैन्य कारवाहीको क्रममा ३० हजार युक्रेनी सेनाको ज्यान गएको बताएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनको ठूलो सैन्य उपकरण पनि नियन्त्रणमा आएको छ ।