काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी आज नेपाल आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार तीन दिने नेपाल भ्रमणको लागि वाङ आज बेलुका काठमाडौँ आइपुग्नेछन् ।
विदेश मन्त्री वाङ तीन दिने भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँगै शिर्ष नेताहरुसँग भेटवार्ता गर्ने बताइएको छ । वाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपका एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता तय भएको बताइएको छ । भ्रमणको क्रममा चीन र नेपालका परराष्ट्रमन्त्रीसहितको द्विपक्षीय वार्ता भोलिका लागि तय भएको छ ।
चिनियाँ राष्ट्रपतिका विशेष दूतको रुपमा नेपाल भ्रमणमा आउन लाग्नुभएका वाङले अमेरिकी परियोजना एमसीसी र युक्रेन विवादबारे धारणा राख्ने बताइएको छ । नेपालले एमसीसीलाई संसदबाट अनुमोदन नगरोस् भन्ने चीनको चााहना रहेको थियो ।
चीनले एमसीसी पास गराउन अमेरिकाले दवाव दिएको भन्दै जबरजस्ती कुटनीति भन्दै त्यसको प्रतिवाद गर्ने गर्ने बताउँदै आएको थियो । तर, नेपालले व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्यो । त्यसपछि चीन नेपालसँग सशंकित भएको थियो । व्याख्यात्मक टिप्पणीबारे अमेरिकी धारणाबारे पनि वाङले चाँसो राख्ने बताइएको छ । एमसीसी पारित पछि चीनको यो उच्चस्तरिय भ्रमण हो ।
त्यसैगरी नेपालले विदेशमन्त्री वाङसँग पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको ऋणको ब्याज घटाउन, चीनमा मेडिकल शिक्षा पढिरहेका तर कोरोनाका कारणा नेपाल आएका विद्यार्थीलाई फेरि चीन लैजान, बीआरआई अन्तर्गतका आयोजना कार्यान्वयनमा चीनले अनुदान दिनुपर्ने लगायतका विषय उठाउने तयारी गरेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ ।