काठमाडौं । नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य लिलामणी पोखरेलले आफ्नो पार्टी आउँदो चुनावमा ०६४ सालको अवस्थामा फर्किने दाबी गरेका छन् । शनिबार रजधानीको कोटेश्वरमा नमोबुद्ध–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा नेता पोखरेलले आगामी चुनावपछि देश पुनःमाओवादीमय हुने ठोकुवा गरेका हुन् ।
सो कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पोखरेलले हेटौंडा महाधिवेशेनमा माओवादीसँग ४ लाख मात्रै सक्रिय पार्टी सदस्य रहेको र भरखर सम्पन्न कमलादी महाधिवेशनमा त्यसको दोब्बर ७ लाख ७० हजार झण्डै आठ लाख पार्टी सदस्यता पुगेकोले अब देशमा पुनः माओवादीमा क्रेज बढ्न थालेको बताए । उनले अगाडी भने,“शान्तिप्रक्रियापछि विभिन्न भागमा विभाजित माओवादीहरु अहिले विस्तारै धु्रवीकरण हुने क्रम जारी रहेको, त्यसमा पनि अन्य पर्टीहरु भन्दा व्यवहारमै माओवादी प्रगतिशील र राष्ट्रवादी भएको जनताले अनुभूति गरेकाले पनि अबको चुनावमा हाम्रो पार्टी शक्तिशाली भएर आउने छ ।”
नेता पोखरेलले संसारभरी कम्युनिष्ट आन्दोलन् थला परेको वखत, नेपालमा क्रान्तिकारी आन्दोलन कसरी अगाडी बढीरहेको छ भन्ने कुरा विश्वभर अध्ययनको विषय बनेको बताए । उनले क्रान्तिकारीहरु कहिले हतियारबद्ध त कहिले शान्तिपूर्ण आवश्यकता अनुसार दुवै तरिका अपनाउने र चूनाव भनेको शान्तिपूर्ण आन्दोलनको एक महत्वपूर्ण औजार भएकोले त्यसको माध्यमबाट समाजवादी क्रान्ति सम्पन्न गर्ने उद्घोष गरे ।
सो कार्यक्रममा सांसद गांगाबहादुर तामङ ‘बमधोज’ले सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई चुनावमा होमिन र संसदमा माओवादीले एमसीसीसँगै व्याख्यात्मक घोषणा पनि अनुमोदन गरेको विषयमा जनतालाई प्रष्ट्याउन आग्रह गरे । बागमाति प्रदेश खेलकुद मन्त्री रत्न ढकालले विभिन्न भागमा विभाजित माओवादी शक्तिहरु एकठाउँमा आउनुपर्ने बताए ।
सो कार्यक्रममा नमोबुद्ध–काठमाडौं सम्पर्क समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १ सय १८ सदस्सिय चुनाव परिचालन कमिटि गठन भएको नमोबुद्ध वडा नम्बर ६ का पार्टी कमिटि अध्यक्ष सुजन न्यौपानेले बताए । जिल्ला कमिटी सदस्य माधव खनाल, नामोबुद्ध नगरपालीका पार्टी कमिटि प्रचारप्रसार विभागका संयोजक महेश्वर अधिकारीलगायतको उपस्थिती थियो भने कार्यक्रममा नमोबुद्ध नगरपालीका कमिटि इन्चार्ज टासी लामा, सोही नगरकमिटी अध्यक्ष मिण्टु लामाले कार्यक्रमको अध्यक्षता र विष्णुभक्त श्रेष्ठले सञ्चालन गरेका थिए ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          










