काठमाडौं । नेकपा (मसाल) को विद्रोही समूह माओवादी केन्द्रमा समाहित भएको छ । मसालबाट विद्रोह गरेर बनेको सम्पर्क केन्द्र बनाइएको समूह माओवादी केन्द्रमा समाहित भएको हो ।
आज एक कार्यक्रमबीच सो समूहलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले औपचारिक रुपमा माओवादी केन्द्रमा स्वागत गर्न लागेका छन् । आज दिउँसो १२ बजे काठमाडौंको त्रिपुरेश्वरमा कार्यक्रम राखिएको छ ।
सम्पर्क केन्द्रमा रहेका नेताहरुले मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे विवाद भएपछि विद्रोह गरेका थिए ।
विद्रोही समूहले ३९ जिल्लामा नेकपा मसाल सम्पर्क केन्द्रको स्थापना गरेको बताइएको छ। त्यस्तै सुदूरपश्चिम, कर्णाली, वागमती, लुम्बिनी, लगायतका प्रदेशका जिल्लामा पनि संगठन विस्तार गरेको विद्रोही नेताहरुले बताएका छन् ।
यही ११ गतेबाट काठमाडौंमा सुरु हुन लागेको पहिलो राष्ट्रिय सम्मेलनमा सम्पर्क केन्द्रका नेताहरु पनि सहभागी हुने भएका छन् । राष्ट्रिय सम्मेलनमा ३३ जना प्रतिनिधि सहभागी हुने नेताहरुले बताएका छन् ।
यसैबीच मसालका महामन्त्री सिंहले पार्टीबाट विद्रोह गरेर जानेहरुलाई ‘पुरोहितका गाईहरू’को संज्ञा दिँदै पार्टीमा फर्कन आग्रह गरेका छन् । बिहीबार विज्ञप्ति निकालेर उनले यस्तो आग्रह गरेका हुन।