काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत कानुन व्यवसायीहरुलाई वार्तामा बोलाएका छन् । सर्वोच्च अदालतको गेटमा धर्नामा बसिरहेका कानुन व्यवसायीहरुलाई आन्दोलन छाडेर संवादमा आउन आह्वान गरेका हुन्ले ।
सोमबार जारी गरेको विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले पारस्परिकता र हार्दिकताको क्रम जहाँबाट टुटेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिने बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘विधिको पक्षमा दृढतापूर्वक उभिंदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी पुनः सबैमा हार्दिक आह्वान गर्दछु ।’
कानुन व्यवसायीको जारी आन्दोलनले न्यायपालिकालाई मात्र नभई लोकतन्त्रको आधारलाई पनि कमजोर बनाउने जबराले बताएका छन् । विद्यमान गतिरोध तत्काल अन्त्य गर्न र न्याय निरुपणको वातावरण सिर्जना गर्ने एकमात्र विकल्प संवाद भएको उनको जोड दिए ।
‘विद्यमान गतिरोधलाई तत्काल अन्त्य गरी बन्दी प्रत्यक्षीकरणसहित नागरिकको न्याय प्राप्त गर्ने मौलिक अधिकार तथा न्याय निरुपण गर्ने हाम्रो कर्तव्यलाई निरन्तता दिने वातावरण सिर्जना गर्नुपर्दछ भन्ने कुनै दुईमत रहनुपर्ने विषय होइन । यसको एकमात्र उपाय संवाद मात्रै रहेकाले तत्काल यसतर्फ संवेदनशील भइदिन सम्बद्ध सरोकारवाला पक्षमा फेरि एकपटक मेरो हृदयको गहिराइबाट हार्दिक आह्वान गर्दछु’ जबराको विज्ञप्तिमा भनिएको छ ।
मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरु कात्तिक १४ गतेदेखि आन्दोलनरत छन् ।
प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश रोक लगाउन भन्दै गेटमा कानुन व्यवसायीहरु धर्ना बसेका छन् । तर जबरा सर्वोच्चमा प्रवेश गरिरहेका छन् ।