
काठमाडौँ । नेता माधव कुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पक्षमा ५५ केन्द्रीय सदस्यहरुले सनाखत गरेका छन् । नेता नेपालले एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।
एमाले विभाजनको पक्षमा ५५ केन्द्रीय सदस्य र ३० जना सांसदहरुले हस्ताक्षर गरेका छन् । आयोगले सनाखत सकेको छ । पछि थपिएका ४ सांसदबारे कुरा नमिलेपछि प्रमुख निर्वाचन आयुक्त, आयुक्त र अध्यक्ष नेपाल, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीबीच छलफल जारी रहेको छ ।
यसैबीच एमाले उपाध्यक्ष वामदेव गौतमले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
गौतमले राजिनामा दिएर नवगठित नेकपा (एकीकृत समाजवादी) मा आउन लागेको बताइएको छ । केन्द्रीय सदस्य बलराम बास्कोटाका अनुसार गौतमले एमाले उपाध्यक्षबाट राजीनामा दिएर नकपा एकीकृत समाजवादीमा आउने विषयमा छलफल भइसकेको छ ।
आयोगले सनाखतका लागि बुधबार विहान ११ बजेदेखि २ बजेसम्मको समय तोकेको छ। दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेपछि बास्कोटाले उक्त प्रतिक्रिया दिएका हुन् । यसअघि गौतम पनि समाजवादीमा रहेको भन्दै पोष्टर बनाइएपछि गौतमको सचिवालयले त्यसको खण्डन गरेको थियो ।