
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले क्रान्तिकारीहरुको नेतृत्वमा कम्युनिस्टहरुबीच ध्रुविकरण हुनपर्ने बताएका छन् । उनले नेपालका कम्युनिस्टहरुमा संसदवादी र क्रान्तिकारी गरी दुई प्रवृति भएको बताए
क्रान्तिकारी पत्रकार संगठन नेपालले संवाद डबलीमा आयोजना गरेको ‘कम्युनिस्टहरुबीच ध्रुविकरणः आवश्यकता र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बास्तोलाले संसदवादी वा क्रान्तिकारी कम्युनिस्ट शक्तिहरुले जसले जित्छ उसैको नेतृत्वमा ध्रुविकरण हुने बताए । उनले संसदवादी कम्युनिस्टहरुको नेतृत्वमा हुने ध्रुविकरण देश र जनताको हितमा नहुने समेत दाबी गरे ।
“क्रान्तिले जिते क्रान्तिकारी कम्युनिस्टहरुको नेतृत्वमा ध्रुविकरण हुन्छ, संसदवाले जिते संसदवादी कम्युनिस्टहरुको नेतृत्वमा ध्रुविकरण हुन्छ । एक अर्कालाई खाएपछि मात्रै ध्रुविकरण हुन्छ । हामी चाहन्छौं क्रान्तिले जित्नुपर्छ र क्रान्तिकारीहरुको नेतृत्वमा कम्युनिस्टहरुबीच ध्रुविकरण हुनुपर्छ” बास्तोलाले भने । उनले आफ्नो पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशाले संसदवादलाई जित्ने र क्रान्तिकारीहरुको नेतृत्वमा ध्रुविकरण हुने दाबी समेत गरे ।
उपलब्धीको रक्षा भन्दै केही कम्युनिस्ट पार्टीहरु दलाल संसदीय व्यस्थाको रक्षामा लागेको बास्तोलाले बताए । उनले उपलब्धीको रक्षा सामान्य नियम भएको र यसलाई सिद्धान्त बनाइएको बताए । नेता बास्तोलाले संसदवादी कम्युनिस्टहरुले भन्ने गरेको समाजवाद बच्चाहरुले गाउने ‘टालटुली बटुली…’ जस्तै भएको बताए । अब गणतन्त्रलगायतका उपलब्धीबाट पछि हट्न कोही नसक्ने भन्दै उनले राजावादीहरुले पनि कम्युनिस्टहरु मिलेर समाजवाद ल्याउछन् भन्ने डरले राजसंस्थाको कुरा गर्ने गरेको बतबाए ।
कार्यक्रममा बोल्दै नेता बास्तोलाले दुई तिहाई बहुमत ल्याएर पनि संसदवादी कम्युनिस्ट पार्टीहरुले जनताको पक्षमा काम गर्न नसकेको भन्दै यो व्यवस्था असफल भएको बताए । कम्युनिस्टको दुई तिहाईको सरकारमा पनि जनताले शिक्षा स्वास्थ्य, न्याय किन्नुपर्ने अवस्था कायमै रहेको भन्दै उनले अहिलेको व्यवस्था प्रतिगामी भएकोले वैज्ञानिक समाजवादी व्यवस्थामा जानुपर्नेमा जोड दिए ।