
काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रमको टुंगो लगाएर मन्त्रिमण्डल विस्तार गर्ने सत्ता गठबन्धनको तयारी भइरहेको छ । त्यसको लागि आज गठबन्धनको कार्यदलको बैठक बस्दै छ ।
बैठक मंगलबार पनि बसेको थियो तर न्यूनतम साझा कार्यक्रमको अन्तिमरुप दिन सकेन । आज विहानबाट कार्यदलको बैठक बसेर साझा कार्यक्रमको टुंगो लगाएपछि मन्त्रिमण्डल विस्तारको तयारी थाल्ने नेताहरुले बताएका छन् ।
कार्यदलले न्यूनतम साझा कार्यक्रममा सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूका लागि १४ बुँदे आचारसंहिता बनाएको छ । आजको बैठकले त्यसलाई अन्तिम रूप दिने बताइएको छ ।
साझा कार्यक्रमको टुंगो लगाएर सार्वजनिक गर्ने तयारी पनि भइरहेको छ । कार्यदलले प्रारम्भिक प्रतिवेदनमा कोभिड– १९को नियन्त्रण, राष्ट्रिय हित, संविधान संशोधन, संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण विषय समेटिएको बताइएको छ ।
त्यसैगरी शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रूपान्तरण, तात्कालिक राहत, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि कार्यक्रममा समेट्ने प्रयत्न गरिएको कार्यदल सदस्य रेमश लेखकले बताएका छन् ।
कार्यदलमा काँग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ र जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादवले काम गरिरहेका छन् । कार्यदलको नेतृत्व काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले गरेका छन् ।
संसद् विघटन गर्ने केपी शर्मा ओलीको कदमलाई संविधान विपरित भन्दै सर्वोच्च अदालतले खारेज गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । प्रधानमन्त्री देउवाले काँग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई गरी चार मन्त्री र आफ्नो पार्टीबाट एक जना राज्यमन्त्री नियुक्त गरेका छन् ।
सत्ता गठबन्धन दलभित्रको विवादका कारण देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । जनता सामाजवादी पार्टीको विवादको टुंगो लागेपनि सरकार गठननमा महत्वपूर्ण भूमिका खेलेको नेकपा एमालेको माधव कुमार नेपाल समूहलाई सरकार ल्याउने प्रयास अहिले पनि जारी छ । तर, नेपाल समूहले कुनै निर्णय गर्न सकेको छै । अब नेपाललाई सहभागी नगराएरै मन्त्रिमण्डल विस्तारको तयारी भइरहेको छ ।