काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले नेता माधव कुमार नेपाललाई आममाफी दिने घोषणा गरेका छन् । उनले नेपाल समूहलाई बाटो बिराएको भन्दै पार्टीमा फर्किए आममाफी दिन सकिने बताएका हुन् ।
बिहीबार पुष्पलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले आन्दोलनलाई जीवित राख्न, यसलाई मजबुत पार्न र विजय यात्रामा कसैले रोक्न नसक्ने बताए । जनता र पार्टी एकताका कुरा गर्नुपर्ने ओलीले बताए ।
ओलीले पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहार सुसार र प्रवलीकरण गरेको पार्टी एमाले भएको भन्दै यो कर्कलोको पातको पानी नभएर कसैले हल्लाउँदैमा भुइँमा नखस्ने दाबी गरे । उनले ओलीले कसैले औँला ताक्दैमा एमाले नसिद्धिने पनि बताए ।
यसैबीच नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर पार्टीभित्र बस्न नसकिने बताएका छन् । नेता नेपालले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा काठमाडौंमा अर्को आयोजित कार्यक्रममा बोल्दै पार्टीलाई घरसँग तुलना गर्दैै कोही पनि त्यत्तिकै घरबाट निस्कन नचाहने बताए । नेता नेपालले क्रान्तिकारी पार्टी बनाउन हरसम्भव प्रयास गर्ने तर पार्टी भित्र एकताको नाममा अपमान सहेर नबस्ने स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै नेपालले पार्टी एक ढिक्का भएर मात्रै नहुने भन्दै सही वैचारिक जगमा पार्टी उभिएन भने पार्टी एक ढिक्का भएर पनि कुनै अर्थ नहुने बताए ।