
काठमाडौं । बाढी–पहिरोमा परी ६३ जनाले ज्यान गुमाएका छन् । यस वर्षको मनसुनबाट अहिलेसम्म ३५ अझै पनि हराइरहेका छन् भने ६३ जना घाइते भएको बताइएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्ष विगतभन्दा मनसुन चाँडै सुरु भएसँगै आएको बाढी–पहिरोबाट ४८ जिल्ला प्रभावित भएका छन् ।
त्यसैगरी ५ सय ६५ निजी आवास पूर्ण रूपमा क्षति भएको, १ सय ५५ घर आंशिक रूपमा क्षति भएको तथा ३७ सरकारी भवन र १२ वटा सामुदायिक भवन तथा विद्यालय क्षति भएको प्राधिकरणले जनाएको छ । निर्माणाधिन र निर्माण सम्पन्न भइसकेका २५ जलविद्युत आयोजना, ७ वटा काठेपुलसहित २६ वटा मोटरेबल पुल र २५ वटा झुलुङ्गे पुलमा क्षति भएको छ ।
गत वर्षको मनसुनबाट क्षति भएका २२ जिल्लाका ४ हजार ९ सय ३७ लाभग्राहीको लागि २९ करोड ९९ लाख २६ हजार २५० रुपैयाँ रकम अवास निर्माण, पुनर्निमाण, पुनस्र्थापना र प्रवलीकरणका लागि निकासा गरिएको छ ।
यस आर्थिक वर्षमा भने विभिन्न ८ जिल्लाका ५ सय ७३ लाभग्राहीका लागि २ करोड ८६ लाख ५० हजार रुपैयाँ तत्कालै अस्थायी आवास निर्माणका लागि सम्बन्धित जिल्ला विपत व्यवस्थापन समितिको कोषमा रकम निकासा गरिसकिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले हाल मनसुनबाट भएको क्षतिको विवरण देशभरबाट संकलन गरिरहेको छ । विपद परेका जिल्लाहरु सिन्धुपाल्चोक, मनाङ, गोरखा, बाजुरा, गुल्मी, अर्घाखाँची, धादिङ, ताप्लेजुङ र पाँचथरमा टेण्ट, त्रिपाल, कम्बल, स्लिपिङ ब्यागहरु र माग भए अनुसारका सामग्रीहरु पठाइएको पनि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ
यसैबीच सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म लागु हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।