काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को मुटुको अप्रेशन हुँदैछ । साइलेन्ट हर्ट अट्याक भएर शहिद गंगालाल राष्ट्रिय हृदयकेन्द्र बाँसबारीमा उपचाररत रहेका सुदर्शनको मुटुको अप्रेशन हुन लागेको हो ।
सुदर्शनकी पत्नी अम्बिका चन्द ओलीका अनुसार स्वास्थ्यमा सुधार नभएपछि अप्रेशन गर्नु परेको हो । हर्ट अट्याक भएपछि नख्खु कारागारबाट गंगालाल राष्ट्रिय हृयदकेन्द्रमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।
सुगर, ब्लड प्रेसर जस्ता रोगबाट पीडित सुदर्शनको स्वास्थ्यमा समस्या उत्पन्न भएको जानकारी गराउँदा पनि जेल प्रशासनको लापरवाहीका कारण गम्भीर अवस्था सिर्जना भएको हो ।
सुदर्शनको अवस्थाबारे जानकारी लिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलगायतका नेताहर अस्पताल पुगेका थिए ।
ओली नेतृत्वको सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नहुँदा सुदर्शन, रणबीर लगायतका नेताहर अझै बन्दी जीवन बिताइरहेका छन् ।
त्यसैबीच सुदर्शनको रिहाईको लागि सर्वोच्चमा अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्धाको आज पेशी समेत तोकिएको छ । उनीसँगै अर्का नेता रणवीरको पनि आजै पेशी सर्वोच्च अदालतले तोकेको छ ।
केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका रणवीरको पनि स्वास्थ्यमा गम्भीर समस्या देखिएको पछि अस्पताल भर्ना गरिएको छ । मुटुमा समस्या देखिएपछि कारागार अस्पतालमा उपचार हुन नसकेपछि रणवीरलाई पनि गंगालाल हृदयकेन्द्रमा उपचार गरिएको थियो ।