![](https://onlinedabali.com/wp-content/uploads/2021/07/biplav-sudarsan.jpg)
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव अस्पताल पुगेर सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।
मुटुमा समस्या उत्पन्न भएपछि केही दिनदेखि सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत सुदर्शनलाई विप्लवले मंगलबार भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । भेटमा विप्लवले सुदर्शनसँग वर्तमान राजनैतिक अवस्था बारेमा छोटो कुराकानी गरेका थिए ।
तत्कालिन नेकपाको मध्य केन्द्रीय कमान्डको जिम्मेवारीमा रहेको बेला २०७५ चैत ९ गते काभ्रेको खानीखोलाबाट गिरफ्तार परेका सुदर्शन बिरामी परि गङ्गालाल अस्पतालमा भर्ना भएका हुन् ।
फरक राजनैतिक आस्थाका कारण हाल नक्खु कारागारमा बन्दी बनाइएका सुदर्शन एक हप्ता अगाडि बिरामी परेको र उनलाई शुक्रबार गङ्गालाल हृदयरोग केन्द्रमा पुर्याएर उपचार थालिएको थियो । उनको स्वास्थ्यमा खासै सुधार नभएपछि उनलाई आइतबार सधन कक्षमा लगेर उपचार थालिएको छ । उनको उपचारमा सङ्लग्न चिकित्सकहरूका अनुसार शुक्रबार सम्ममा सुदर्शनको स्वास्थ्य अवस्थाको बारेमा एकिन जानकारी हुनेछ ।
विगत १५ बर्षदेखि मुटु, प्रेसर, सुगर, कोलेस्टेरोल र प्रोस्टेटको औषधि सेवन गरिरहेका नेता सुदर्शनको पछिल्लो समय स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएको भन्दै उनको परिवारजन र नेताकार्यकर्ता समर्थक शुभचिन्तकहरूले रिहाइको माग गरेका छन् ।
सुदर्शनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायतका नेताहरू अस्पताल पुगेका थिए ।