
काठमाडौँ । सरकारसँग तीन बुँदे सहमतिपछि खुला राजनीति गतिविधि गरिरहेको नेपाल कम्युनिस्ट पार्टीलाई यतिबेला असार लागेको छ । अहिले नेकपा नेता कार्यकर्ता कतै श्रमशक्ति नभएका, सहिद परिवार, पार्टीका पूर्णकालिन कार्यकर्ताको खेतबारीमा भेटिन्छ भने कतै पार्टीलाई आत्मनिर्भर बनाउन बाँझो जमिन र भीरपाखमा ।
यो समय हरेक कृषकको लागि ‘माना रोपेर मुरी फलगाउने’ समय हो । यो कुरा नेकपाका नेता कार्यकर्ताको हकमा पनि । पार्टीका महासचिव विप्लव नै कहिले धन रोपिरहेका छन् भने कहिलै कोदाली बोकेर खेत खनिरहेका भेटिन्छन् । त्यस्तै, विप्लव कहिलै श्रमशक्ति नभएका सर्वसाधारणको खेतबारीमा ।
नेकपाको केही दिन पहिला सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीलाई आत्मनिर्भर बनाउने र नेता कार्यकर्ता श्रमसँग जोडिने नीति तय गरेको थियो । त्यहीअनुसार नेकपाका नेता कार्यकर्ता अहिले श्रमसँग जोडिएका छन् ।
महासचिव विप्लवको नेतृत्वमा पार्टीको केन्द्रीय कार्यालय निर्माण भइरहेको छ । कपिलबस्तुमा निर्माधिन कार्यालयको विप्लवले नियमित जानकारी लिइरहेका छन् । पार्टीको केन्द्रीय कार्यालय वरपर विभिन्न जातका १८ सय बोटविरुवा समेत विप्लवले रोपेका थिए ।
यसैक्रममा नेकपा बर्दियाले बडैयाताल गाउँपालिकामा तीन विघा बाँझो जमिनमा धन रोपिरहेको छ । नेकपाका बर्दिया जिल्लाका निवर्तमान इन्चार्ज तथा विशेष समिति सदस्य हिमशिखरको नेतृत्वमा रोपाइँ सुरु गरिएको छ । रोपाइँमा बाँसगढी नगरपालिकाका इन्चार्ज शक्ति, बढैयाताल गाउँपालिकाका इन्चार्ज रमेश रोपाइँ कार्यमा जुटेका छन् ।
त्यसैगरी रोपाइँमा पार्टीका स्थानीय नेता कार्यकर्ता र समर्थक तथा शुभचिन्तकको पनि सहभागीता रहेको छ ।
उता प्युठानमा भने नेकपाले भीरपाखामा सुन्तला र कागती रोपिरहेको छ । नेकपाका नेता कार्यकर्ता सुन्तला र कागती लगाउनको लागि जमिन तयार गरिरहेका छन् ।
सुदूरपश्चिमका कैलाली, अछाम, डोटीलगायतका जिल्लामा पनि नेकपाका नेता कार्यकर्ता श्रमसँग जोडिएका छन् । धेरै स्थानमा किसानलाई सहयोग गरिरहेका छन् भने केही ठाउँमा पार्टीको उत्पादनको लागि रोपाइँ गरिरहेका छन् ।