काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका १४ जनप्रतिनिधि पदमुक्त भएका छन् । एमालेमा प्रवेश गरेका उनीहरुलाई माओवादी केन्द्रले दल त्याग गरेको भन्दै पदमुक्त गर्न आयोगमा सिफारिस गरेको थियो । उनीहरु सबै स्थानीय तहका जनप्रतिनिधि हुन् ।
निर्वाचन आयोगले असार ९ गतेको निर्णय आज सूचना जारी गरेर १४ जनप्रतिनिधिलाई पदमुक्त गर्दै उनीहरुको पद रिक्त भएको जानकारी गराएको छ ।
आयोगको अनुसार पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् ।
माओवादी केन्द्रको असार ७ गते बसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो । सो जानकारी आयोगलाई गराएको थियो । एमालेमा प्रवेश गरेका जनप्रतिनिधिलाई कारवाही गर्ने अधिकारी अध्यक्ष प्रचण्डलाई दिइएको थियो ।
माओवादी नेताले आफ्नो पार्टीबाट चुनाव जितेर एमालेसँग ‘लभ परेको’ भन्दै कारवाही गरिएको बताएका छन् ।