काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ को रिटमाथि आज सुनुवाई हुँदैछ । सुदर्शनकी जीवन साथी अम्बिका चन्दले सर्वोच्च अदालतमा दायर गरेकोे रिटमाथि आज सुनुवाई गर्न लागेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश मिरा राणा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले रिटमाथि सुनुवाई गर्ने सर्वोच्चले पेशी सूची सार्वजनिक गरेको छ ।
सर्वोच्चको २ नम्बर इजलास सुनुवाई हुन लागेको रिटको ललितपुर जिल्ला अदालत र नुवाकोट जिल्ला अदालतलाई विपक्षी बनाइएको छ ।
यो रिटमाथिको सुनुवाई भिडियो कन्फरेन्सिङका माध्यमबाट हुने सर्वोच्च अदालतले जनाएको छ ।
सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमति कार्यान्वनमा नभएपछि सुदर्शनको रिहाईको लागि गत शुक्रबार सर्वोच्चमा रिट दायर गरिएको थियो । सहमतिअनुसार सरकारले नेकपाका नेतामाथि लगाइएका मुद्धा फिर्ता लिने, सरकार गैरजिम्मेवार बनेको छ । नेकपाका नेतामाथि लगाइएका मुद्धा फिर्ता र रिहा गर्ने सहमति गरेपनि सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन ।
आफैले गरेको सहमति कार्यान्वयन गर्न गैरजिम्मेवार बनेपछि नेकपाका नेता कार्यकर्ता जेलमै छन् । सरकार सहमतिबाट पछि हटेपछि नेकपाले कानुनी प्रक्रिया सुरु गरेको छ ।
ललितपुरस्थित एनसेलको टावरमा ब.म बि स्फोट आरोपमा सफाई पाएका सुदर्शनलाई हातहतियार सम्बन्धी मु’द्धा लगाइएको छ ।
सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच फागुन २० गते तीन बुँदे सहमति भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा नेकपा माथि लगाइएको प्रतिबन्ध फुकुवा, नेता–कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने र नेकपाले सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको थियो ।
सहमतिअनुसार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवको उपस्थितिमा फागुन २१ गते राष्ट्रिय सभामा सहमतिमा हस्ताक्षर गरिएको थियो । सहमति कार्यान्वयन नगरेको भन्दै नेकपाले सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै आइरहेको छ ।