काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली फेरि एक कदम पछि सरेका छन् । नेता माधव कुमार नेपाल समूहका नेताहरुलाई कारवाही गर्ने चर्चाबीच पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको स्थायी समिति बैठकले स्पष्टीकरण सोधिएका र कारवाही सिफारिस भएका नेताहरुमाथि कुनै कारवाही नगरे एकता जोगाउने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने निर्णय भएको जानकारी लिए । “पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ” संचारकर्मीसँग ज्ञवालीले भने ।
बैठकमा जनता समाजवादी पार्टीको महन्थ ठाकुरले सरकारमा सहभागी हुन देखाएको रुची र प्रतिनिधि सभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी भइरहेका बहसमाथि समिक्षा भएको प्रवक्ता ज्ञवालीले बताए ।
हालै सार्वजनिक गरिएको बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनमा पार्टीभित्रैबाट गरिएको धोकाबारे पनि बैठकमा छलफल भएको बताइएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेश कमिटीले सिफारिस गरेको कारवाहीबारे पनि छलफल अगाडि बढाइएन ।
केन्द्रको निर्देशन विपरित सुदूरपश्चिम प्रदेशमा नेता नेपाल समूहले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । यो पार्टी नीति विपरित भएको भन्दै एमाले प्रदेश अध्यक्ष कर्ण थापाले कारवाहीको लागि केन्द्रमा सिफारिस गरेका थिए । आजको बैठकले सिफारिस गरिएका तथा सांसदहरुलाई कारवाही गर्न सक्ने अनुमान गरिएको थियो । तर, त्यसबारे कुनै छलफल नभएको नेताहरुले बताएका छन् ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा नेपाल समूहका जनप्रतिनिधि र प्रदेश सांसदले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनले अगाडि सारेका उम्मेदवारीलाई मतदान गरेका थिए । यो विषयमा पनि एमालेले थप अगाडि बढेन । मतदानलाई हेर्ने हो भने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका छन् । मतदान नर्गेलाई कारवाही गर्ने हो भने प्रदेश सरकार नै ढल्ने भएकोले ओली समूहले कारवाही गर्न हिम्मत नगरेको बताइन्छ ।