
काटमाडौं । नेपालमा संसद विघटनपछिको राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेको चिनियाँ कम्युनिस्ट पार्टीको शिर्ष नेतृत्व नेपाल भ्रमणमा आएको छ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्ने र (नेकपा) का दुबै समूहका नेताहरुसँग भेटवार्ता गर्न चिनियाँ अधिकारीहरु आइतबार दिउँसो काठमाडौँ आइपुगेका हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं पुगेका छन् । नेपाल भ्रमणका एजेण्डा सार्वजनिक रुपमा केही नबताए पनि नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बुझ्न चिनियाँ राष्ट्रपति सी चिनफिङले टोली पठाएको बताइएको छ । टोलीले सीको सन्देशसहित ओली र प्रचण्ड समूहका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।
चिनियाँ राष्ट्रपतिले समकक्षी विद्यादेवी भण्डारीलाई समेत सन्देश पठाएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि चिनियाँ शिर्ष नेतृत्वको नेपाल भ्रमणलाई अर्थपूर्ण लिइएको छ ।
(नेकपा) एकीकरणमा महत्वपूर्ण भूमिका खेलेका उपमन्त्री येचौ विभाजनपछि फेपर नेपाल आएका छन् । उनले २०७४ फागुनमा नेपाल भ्रमणमा आएर केपी शर्मा ओली र प्रचण्डलगायतका नेताहरुसँग भेटवार्ता गरेका थिए । उनले एमाले र माओवादी केन्द्र एकीकरणको सुझाव दिएको बताइएको थियो । त्यसको तीन महिनापछि दुबै पार्टीबीच एकता भएको थियो ।
चिनियाँ नेतृत्वले (नेकपा)को विभाजनालाई रोक्ने प्रयास गरेको थियो । यसअघिको विवाद मिलाउन नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको पनि भूमिका रहेको थियो । तर, अन्तमि विभाजन भने कसैले रोक्न सकेन । (नेकपा)को विभाजनपछि यान्छीले राष्ट्रपति, प्रचण्ड, माधव कुमार नेपाललगायतका नेताहरुसँग भेटवार्ता गरेकी थिइन् ।