काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रको विभाजनको प्रभाव प्रदेश सरकारमा पनि पर्न थालेको छ । (नेकपा)कै सांसदहरुले वागमती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
सत्तारूढ नेकपाकै दाहाल–नेपाल समूहका ४५ प्रदेशसभा सदस्यले शुक्रबार अविश्वासको प्रस्ताव हालेका हुन् । उनीहरू प्रदेशसभा सचिवालय पुगेर बिहान ११ः२५ मा हस्ताक्षरसहितको प्रस्ताव दर्ता गराएका छन् । अविश्वासको प्रस्तावको प्रस्तावकमा शालिकराम जमकट्टेल रहेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका उनी पदबाट राजीनामा दिएर अविश्वास प्रस्ताव दर्ता गराउन गएका हुन् ।
त्यस्तै उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलालले पनि पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
वागमती प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । यसअघि स्थायी राजधानी घोषणा, बजेटको समयमा समेत मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर भए पनि दर्ता भएको थिएन । मुख्यमन्त्री पौडेल सरकार गठन भएदेखि नै अल्पमतमा छन् ।
मुख्यमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूहमा लागेको कारण अविश्वासको प्रस्ताव ल्याउनु परेको एक सांसदले बताए । अब नेपाली काँग्रेससँग मिलेर यो समूहले सरकारको गठन प्रक्रिया अढाउने बताएको छ ।