काठमाडौं । संसद विघटनबारे सभामुख अग्निप्रसाद सापकोटाले मुख खोलेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारील संसद विघटन गरेको चौथो दिनमा सभामुख सापकोटाले प्रतिनिधिसभा विघटन हुन नसक्ने बताएका छन् ।
सापकोटाले बुधबार विज्ञप्ति जारी गरेर संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था बताएका छन् । पुस १७ गतेभित्र संघीय संसदको सातौं अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रुपमा प्रतिनिधि सभामाथि अवरोध सृजना गरिएकोमा सिंगो प्रतिनिधि सभा र आफूलाई मर्माहत बनाएको सभामुखले उल्लेख गरेका छन् ।
“संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ । यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो” सभामुख सापकाटाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सापकोटाले विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य स्मरण गराएका छन् । सात दशकयताका बिभिन्न आन्दोलनको जगमा संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको पालना सिंगो मलकको प्रमुख कार्यभार भएको उनको भनाई छ ।
संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको सापकोटाको दाबी छ। उनले संवैधानिक सर्वोच्चताका लागि सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको धारणा राखेका छन्।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा भएको छ । प्रचण्ड(नेपाल समूहको विघटित नेकपा संसदीय दलको बैठकले प्रधानमन्त्रीको प्रतिनिधि सभाको कथित विघटन गर्ने कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधि सभाको नियमित कार्य अघि बढाउन माग गरेको छ ।