
काठमाडौं । केपी ओली सरकारले असंवैधानिक रुपमा गरेको संसद विघटनको विरोध गर्दै नेकपा (माओवादी केन्द्र) ले संसदीय व्यवस्था अन्त्यको घोषणा सहित सर्वदलीय सरकार गठनको माग गरेको छ । उक्त पार्टीको उपलब्ध स्थायी समितिको बैठकले सोमबार सो निर्णय गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको संयुक्त मोर्चाको आवश्यकता बढेको महसुस गरी २३ दलीय मोर्चाको आन्दोलनलाई झन् सशक्त बनाउन सबैलाई अपिल गरेको छ ।
पार्टी अध्यक्ष कर्णजित बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै दलाल तथा नोकरशाही वर्गको स्वार्थ र इशारामा चलेको खड्ग ओली सरकार देश, जनता र वर्गको हितमा कहिले नरहेको तथ्य घटनाक्रमले पुष्टि गर्दछ भनेको छ । विज्ञप्तिमा अगडी भनिएको छ ‘आफू पनि सहभागी भएर बनाएको संविधानको मर्म र भावना विपरीत खड्ग सरकारका निरङ्कुशता र अधिनायकवादी हर्कतहरुले फेरि यो संसदीय व्यवस्था पूर्णतयाः असफल भएको छ ।
जसले गर्दा वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको आवश्यकता बढेर गएको छ ।’ उपरोक्त परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको मुद्दालाई तत्काल हल गर्न राजनीतिक परामर्श सम्मेलनको आयोजना गरी देशभक्तहरुको वामपन्थी राष्ट्रिय सर्वदलीय सरकार गठन गर्न माग गर्दछौं प्रेस विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै विज्ञप्तिमा नेकपा डबलका अध्यक्षद्वय प्रचण्ड र खड्ग ओलीद्वारा गरिएको उद्देश्यहीन नौटंकी व्यक्तिगत स्वार्थ केन्द्रित पार्टी एकता औपचारिक रुपमा विघटनको दिशातिर जानुले क्रान्तिकारी कार्यदिशा, विचार र पार्टी निर्माणको वस्तुगत आवश्यकता टट्कारो बनेको छ । यसर्थ सम्पूर्ण कम्युनिष्ट नेता, कार्यकर्ता, शुभचिन्तक र आम जनसमुदायलाई नेकपा (माओवादी केन्द्र) मा गोलबद्ध हुन आह्वान गर्दछौं उल्लखे छ ।
खड्ग ओली सरकारद्वारा चालिएको गणतन्त्र विरोधी कदमविरुद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको संयुक्त मोर्चाको आवश्यकता बढेको महसुस गर्दै २३ दलीय मोर्चाको आन्दोलनलाई झन् सशक्त बनाउन प्रभावकारी भूमिका खेल्न सम्पूर्णमा अपिल गर्दै उक्त पार्टीले विज्ञप्ति प्रकाशित गरेको छ ।