धनगढी । डोडीमा जिप दुर्घटना हुँदा एकै परिवारका तीनसहित ४ जनाको ज्यान गएको छ । गएराति दिपायलबाट बोग्टानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जीप बोगटान फुड्सिल गाउँपालिका-७ स्थित पिउसिया भिरमा खसेर दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार वडासचिव मन्जु त्रिपाठी, तीन वर्षीय छोरा र सासु आमाको निधन भएको छ । बैतडी घर भएकी त्रिपाठी बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ की वडासचिव हुन् । २८ वर्षीया त्रिपाठीको उपचारको लागि दिपायल लैजाँदै गर्दा बाटोमा निधन भएको हो भने छोरा र सासु आमाको घटनास्थलमै ज्यान गएको डोटी प्रहरीले बताएको छ ।
त्यसैगरी दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिकामै कार्यरत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको कृषि प्राबिधिक हरि भट्टको पनि ज्यान गएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्शिलाले बताए ।
दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टीकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट, चालक कैलाश बम रहेका छन् । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
चालक निदाएको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।
- फाइल फोटो