काठमान्डौं । काठमाडौं उपत्यकामा विहीबार अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा आज सम्मकै धेरै थप ५७२ जना संक्रमित थपिएका जनाएको छन् ।
आज काठमाडौंमा ४९५ , भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना थपिएका हुन् । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या १०,०१२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको जनाएको छ ।
आज नेपालमा १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । आजको सहित कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० पुगेको छ।
स्वास्थ्य मन्त्रालयको अनुसार आज थप ५ निधन भएको छ । हाल सम्म नेपालमा कोरोनाबाट निधन हुनेको कुल संख्या ३१७ पुगेको छ । मंगलबार र बुधबार ६, ६ जनाको मृत्यु भएको थियो । सोमबार ११ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ । जसमध्ये ८ हजार १० जना संस्थागत आइसोलेसनमा र ६ हजार ४३८ जना होम आइसोलेसनमा बसिरहेका छन् ।
त्यसैगरी आज ११ हजार १४४ जनाको आरटीपीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको छ । आजको सहित नेपालमा ८ लाख १० हजार ४८५ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ ।
यसैबिच आज काठमान्डौ उपत्यकामा कोरोना महामारीका रेकथामको लागी लगाएको २१ दिन लामो निषेधाज्ञा केही खुकुलो भएको छ ।