आज :

इलामको विकास र समृद्धिका लागि सबै पुस्ताबीच सहकार्य आवश्यक : निश्कल राई

  • अनलाइन डबली

 

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले इलामको विकास र समृद्धिका लागि सबै पुस्ताबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार लेखक खेमराज नेपालद्वारा लिखित ‘इलामको नालीबेली’ पुस्तक विमोचन समारोहमा बोल्दै सचेतक राईले इलामप्रति माया, सद्भाव र समृद्ध इलामको सपना बोकेर बसेका अग्रज व्यक्तित्वहरूको अनुभव र सुझाव नयाँ पुस्ताका लागि महत्त्वपूर्ण हुने पनि उल्लेख गरे ।

उनले इलामको पहिचान र विशेषतालाई पुस्तकमार्फत उजागर गर्ने प्रयास गरेको भन्दै लेखक खेमराज नेपाललाई बधाई तथा शुभकामना व्यक्त गरे ।

इलाममा जन्मिएर हुर्किएका र कर्मथलो काठमाडौं बनाएर विभिन्न अनुभव सँगालेका नेपालले लेखेको पुस्तकले भविष्यमा इलाम कस्तो बनाउने र कस्तो हुन सक्छ भन्ने विषयमा परिकल्पना गर्न सहयोग पुग्ने उनले बताए ।

आफूहरू अहिले सिक्ने क्रममा रहेको भन्दै उनले इलामलाई आफूहरूले कल्पना गरेजस्तो बनाउन अग्रजहरूको सल्लाह, सुझाव र सहयोग निरन्तर आवश्यक रहने बताए । साथै, इलामको विकास र समृद्धिका लागि सबै पुस्ताबीच सहकार्य हुनुपर्नेमा उनले जोड दिए ।

उनले योग्यताको मापदण्ड नयाँ वा युवा हुनु मात्रै नभई अनुभव र क्षमता पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए । उनले पुरानो पुस्ताको अनुभव र इतिहासलाई बिर्सेर अघि बढ्न खोज्दा समाजको अस्तित्व नै कमजोर हुन सक्ने धारणा राखे ।

इलाम नगरपालिकाका प्रमुख केदार थापाले ‘इलामको नालीबेली’ पुस्तक इलाम जिल्लाको इतिहास, पहिचान र सामाजिक विकासलाई समेटिएको महत्त्वपूर्ण दस्तावेज भएको बताए ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले लामो अध्ययन, अनुसन्धान, स्थानीयस्तरको भ्रमण तथा विभिन्न व्यक्तिसँगको संवादका आधारमा तयार पारिएको पुस्तकले इलामको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक अवस्थालाई बुझ्न महत्त्वपूर्ण सहयोग गर्ने बताए ।

उनले पुस्तकमा दुई हजार वर्षभन्दा पुरानो इतिहासदेखि इलामको धर्म, संस्कृति, जातजाति, परम्परा, शिक्षा, उद्योग तथा समाज विकासमा योगदान पु¥याउने व्यक्तिहरूका विषय समेटिएको उल्लेख गरे ।

पुस्तकलाई लेखकको व्यक्तिगत सिर्जनामा मात्र सीमित नराखी इलामको सार्वजनिक सम्पत्तिका रूपमा लिनुपर्ने मान्यतासहित नगरपालिकाले प्रकाशनमा अपनत्व लिएको उनको भनाइ छ ।

थापाले लेखक नेपालले सरकारी सेवाबाट निवृत्त भएपछि पनि समाज विकासका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । नाम्सालिङ विकास संस्थामार्फत करिब २० देखि २२ जिल्लामा वैकल्पिक ऊर्जा, जीविकोपार्जन, जलवायु अनुकूलन तथा वातावरण संरक्षणका क्षेत्रमा उनले योगदान पु¥याएको उल्लेख गर्दै नगरपालिकाले समेत विभिन्न काममा सहकार्य गरेको जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । लेखक नेपाललाई पनि नगरपालिकाले संस्थागत रूपमा प्रशंसा तथा अभिनन्दन गरिसकेको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा.केदारभक्त माथेमाको उपस्थितिलाई विशेष महत्त्व दिँदै मेयर थापाले चिकित्सा शिक्षा सुधार र मेडिकल कलेजलाई विकेन्द्रीकरण गरी दुर्गम क्षेत्रमा विस्तार गर्ने विषयमा विगतदेखि नै उठाउँदै आएको आवाजको प्रशंसा गरे ।

मेयर थापाले इलाममा मेडिकल कलेज स्थापना गर्ने सम्भावना रहेको उल्लेख गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम र झापासँगको भौगोलिक निकटता तथा छिमेकी मुलुकसँगको पहुँचका कारण इलाम उपयुक्त स्थान हुन सक्ने बताए ।

मेयर थापाले नगरपालिकाले स्थानीय इतिहास, संस्कृति तथा पहिचानको संरक्षण र प्रवद्र्धनलाई सदैव प्राथमिकता दिंदै आएको बताए । ‘यो ऐतिहासिक दस्तावेज हो, यसले इलामको इतिहासलाई अभिलेखीकरण गर्ने मात्र नभइ अनुसन्धानकर्ता, विद्यार्थी, लेखकलगायत मुलुककै लागि महत्वपूर्ण सन्दर्भ सामग्रीका रुपमा स्थापित गर्नेमा विश्वस्त छु,’ उनले भने ।

इलाम समाज काठमाडौंको आयोजनामा भएको कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमा, राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसी, सरकारका पूर्वसचिव एवम लेखक खेमराज नेपाल, अग्रज पत्रकार धर्म गौतमलगायतले आफ्नो धारणा राखेका थिए ।

इलामको समाज, संस्कृति, खेतीपाती, जीवनशैली र इतिहासको दुर्लभ दस्तावेज रहेको पुस्तक १८० पेजमा सटेटिएको छ । पुस्तकमा वि.स. २००० भन्दा अघिको इलामको ऐतिहासिक पृष्ठभूमि, नामकरण, बसोबासको इतिहास, विभिन्न जातजाति तथा समुदायको अवस्था, उत्पादन प्रणाली, व्यापार व्यवसाय, बजार, कृषि, बनस्पति, वन जंगल, भाषा भेषभुषा, चालचलन, खानपान, बोलीचाली, प्रचलन, धार्मिक तथा सांस्कृतिक सम्पदा, खोलानालालगायत इलामको समग्र सामाजिक तथा आर्थिक अवस्थालाई तथ्यपरक ढंगले प्रस्तुत गरिएको छ । इलामको समग्र इतिहासलाई एकीकृत रुपले अभिलेखीकरण गर्ने प्रयास गरिएको हो ।

इलाम नगरपालिकको प्रकाशन तथा ग्लोबल प्रकाशन गृह डिल्लीबजार काठमाडौंले मुद्रण गरेको पुस्तकको मूल्य पाँच सय रुपैंयाँ राखिएको छ । नेपाल सरकारका पूर्वसचिव समेत रहेका लेखक नेपालले यसअघि ‘समाज, संस्कार र शासन’ र ‘मिश्रित जातजाति ः हामी नेपाली’ पुस्तक लेखीसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal