काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतका निर्वाचन वा सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधली भएको प्रमाण उपलब्ध गराउने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो घोषणा गरेका हुन् । धाँधलीमा संलग्न व्यक्तिहरू पक्राउ परी दोषी ठहरिएपछि मात्र पुरस्कार दिइने उनले उल्लेख गरेका छन् ।
‘विगतका निर्वाचन वा आगामी सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधलीबारे सूचना दिने जोकोहीलाई धाँधली गराउने व्यक्ति पक्राउ परी दोषी ठहरिएपछि १० लाख डलर दिइनेछ,’ ट्रम्पले लेखेका छन् ।
अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनलाई संसद्का दुवै सदनमा नियन्त्रण कायम गर्ने प्रतिस्पर्धाका रूपमा हेरिएको छ । यस निर्वाचनको नतिजाले ट्रम्प प्रशासनको विधायिकी एजेन्डा र वासिङ्टनको राजनीतिक शक्ति सन्तुलनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ ।
अमेरिकामा राष्ट्रपतिको चारवर्षे कार्यकालको मध्यबिन्दुमा हुने मध्यावधि निर्वाचन प्रत्येक दुई वर्षमा हुने नियमित संसदीय निर्वाचनको हिस्सा हो । यस निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका करिब एकतिहाइ सिटका लागि मतदान हुन्छ । यसबाहेक देशभरका विभिन्न राज्य तथा स्थानीय तहमा पनि निर्वाचन हुन्छ । मध्यावधि निर्वाचनलाई राष्ट्रपतिको कार्यसम्पादनप्रतिको जनमत परीक्षणका रूपमा समेत लिइन्छ ।
संसद्का दुवै सदनमा राष्ट्रपतिको दलको पकड कमजोर भएमा सरकारलाई आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कठिन हुन सक्छ । ट्रम्प प्रशासनले आर्थिक चुनौती र घट्दो लोकप्रियताबीच निर्वाचनको सामना गरिरहेको छ । द वाल स्ट्रिट जर्नलले सेप्टेम्बरमा प्रकाशित गरेको सर्वेक्षणअनुसार ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा झरेको थियो । उक्त प्रकाशनले सन् १९९० देखि मध्यावधि निर्वाचनअघि राष्ट्रपतिहरूको अनुमोदन दरबारे गरेको सर्वेक्षणमध्ये यो न्यून स्तर भएको समाचारमा उल्लेख छ । एएनआई


अनलाइन डबली

