आज :

बूढीगण्डकी बाढीबाट बाँचेकाहरू भन्छन् :‘बाँच्छौँ होला जस्तै लागेको थिएन, तर बाँच्यौँ’

  • अनलाइन डबली

शंकर श्रेष्ठ

धादिङ । गोरखाको चुमनुब्री–३, सल्लेरी बजारका मानिसहरू निद्रामै थिए। कल्पना गुरुङको मोबाइलमा घण्टी बज्यो। माइतबाट भाइले फोन गरेका रहेछन्। ‘दिदी, खोलामा बाढी आयो, पाखातिर भाग’ भन्दै चिच्याउन थाले। बोल्दाबोल्दै भूकम्प आएजस्तै घर थर्किन थाल्यो। ठूलो आवाज आयो। ‘सुतिरहेको बच्चा च्यापेर अँध्यारोमा लड्दै, घिसारिँदै माथितिर भाग्यौँ,’ नेपाली सेनाले उद्धार गरी सल्लेरीबाट गोरखाको आरुघाट कभर्डहल आइपुगेकी कमला गुरुङ भन्छिन्, ‘ज्यान त बचायौँ, अरू सबै बग्यो। भाइको फोन आउन एक मिनेट ढिलो भएको भए मर्ने रहेछौँ।’

कमला गुरुङलाई पनि बिहान निद्रामै ससुरा (मामा)को फोन आयो। ‘खोलामा बाढी आयो, तुरुन्तै भाग’ भन्दै कराउन थालेपछि ओछ्यानमा सुतिरहेको दूधेबालक छोरालाई तानेर उनी भाग्न थालिन्। बच्चा च्यापेर उकालो भाग्दै गर्दा अत्तालिएर लडिन् र उनको हातबाट बच्चा छुट्यो। तर, पछाडिबाट आएका छिमेकी भाइले बच्चा टिपेर माथि पु¥याइदिएपछि ठूलो अनिष्ट ट¥यो। त्यो भयावह क्षण सम्झिँदै कमला भन्छिन्, ‘अलि माथि पुगेर पछाडि फर्केर हेर्दा सबै बगाइसकेछ। बाँच्छौँ होला जस्तै लागेको थिएन, तर बाँच्यौँ।’

बिहानपख बाहिर मानिसहरू कराएजस्तो लाग्यो। ब्युँझिँदा ‘खोलामा ठूलो बाढी आयो, भाग, भाग’ भन्ने आवाज सुनियो। सिरक फालेर अरूसँगै दौडिएँ। ‘बाढीको आवाज सुन्दा हामी त बाँच्छौँ जस्तो लागेकै थिएन। बगाएरै लैजान्छ होला जस्तो लागेको थियो, तर भाग्यले बाँच्यौँ,’ भागेरै ज्यान बचाएकी कोपिला गुरुङ भन्छिन्, ‘पैसा र सुनहरू थियो, त्यो निकाल्ने त कुरै थिएन, ज्यान जोगाउनु नै मुख्य कुरा भयो।’

‘निद्रामै थिएँ, अँध्यारोमा आँखा नदेखिने। कहिले कता ठोक्कियो, कहिले कता ठोक्कियो। कोही नाङ्गै भाग्यो। कपडा, चप्पल पनि टिप्न भ्याएनन्। सल्लेरीभन्दा माथि डाँडामा घर थियो, सबै जना त्यहीँ गएर बस्यौँ। अहिले हेलिकप्टरले त्यहीँबाट लिएर आयो,’ कोपिलाले घटनाक्रम सुनाइन्।

हुन त यसअघि पनि दुई–तीन पटक ‘बाढी आयो’ भनेर सूचना आइरहन्थ्यो। ‘त्यतिबेला दिउँसो थियो, बाहिरतिर हेर्दै सचेत रहन्थ्यौँ। अहिले त सबै बगायो,’ कमलाले सुनाइन्। बाढीले बस्ती नै बगाएपछि उनी काठमाडौंमा आफन्तकोमा बस्न जान लागेको बताउँछिन्।

आफ्नो भएको घर, जग्गाजमिन बाढीले नक्सासमेत नरहने गरी बगायो। उनीहरूसँग लगाउने एकसरो कपडा र एक जोर चप्पलसमेत छैन। छिमेकी गाउँका मानिसले दिएका कपडा लगाएर बसिरहेको बेला सेनाले उद्धार गरेर ल्याइदिएको कल्पनाले बताइन्।

सल्लेरी बजारका सबैको कथा कल्पना, कमला र कोपिलाको जस्तै मर्माहत र पीडादायी छ। कोही बाढीको आवाज सुनेर आफैँ ब्युँझिए। कसैलाई आफन्तहरूले उठाए। एकै ठाउँमा झुपुक्क बसेको बस्ती भएकाले एकअर्काबीच पनि छिटो खबर फैलियो। कल्पना र कमलालाई आएका एक–एक फोन कल नै उनीहरूको जीवन बचाउने माध्यम बने। आफन्तको त्यो फोन समयमा नआएको भए सल्लेरीमा ठूलो मानवीय क्षति हुने निश्चित थियो। बाढीले सर्वस्व खोसे पनि ज्यान बचाउन सफल भएकोमा उनीहरूले भगवान्लाई सम्झिएका छन्।

सल्लेरीमा करिब १२ घर थिए। अधिकांश गुरुङ समुदायको बसोबास थियो। कपडासमेत लगाउन नभ्याई ज्यान बचाउन भागेका सल्लेरीवासीले घरका लत्ताकपडा, पैसा वा अन्नपात केही जोगाउन भ्याएनन्। सर्वस्व गुमाएका सल्लेरीका स्थानीय अहिले उद्धारपछि आफन्तको शरण लिन काठमाडौं जाँदै छन्।

बिहानको झिसमिसे उज्यालो हुन नपाउँदै उर्लिएको बाढीले सल्लेरी बजार पूरै बगाएको छ। घरगोठ, बजार र जलविद्युत् आयोजनाका संरचनाहरू सखाप पारेको छ। तर, समयमै आएको एउटा फोन कलले मानवीय क्षति हुनबाट जोगाएको छ।

सल्लेरीमा जलविद्युत् आयोजनाको क्याम्प र पसलहरू थिए। प्राकृतिक सौन्दर्य हेर्न त्यस क्षेत्रमा पुग्ने विदेशी पर्यटकहरू पनि त्यहीँ बास बस्थे। अहिले बाढीले सबै बगाइदिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal