आज :

जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी कामदार अझैं सम्पर्कविहीन : उर्जामन्त्री श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा विभिन्न जलविद्युत आयोजना तथा संरचनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको जानकारी दिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले बाढीबाट प्रभावित परिवारप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै खोज तथा उद्धार कार्यलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने प्रतिबद्धता जनाए ।

उनका अनुसार सम्पर्कविहीन आफन्तको प्रतीक्षामा रहेका परिवारको पीडा गहिरो रहेको भन्दै सरकारले घाइतेको उपचार, विस्थापितको पुनःस्थापना तथा क्षतिग्रस्त विद्युत्, सडक र पुललगायत पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकतामा राखेको छ ।

उनले बाढीमा नेपाल विद्युत् प्राधिकरणका ४७ कर्मचारीसहित विभिन्न जलविद्युत आयोजना र संरचनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको बताए ।

उपल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा बाढी आउनुअघि १ हजार ४३३ जना कार्यरत रहेकामा ९५५ जनाको सकुशल उद्धार भएको वा उनीहरू आफैं सम्पर्कमा आएको मन्त्रीले बताए । यो आयोजनाबाट ४३९ जना अझै सम्पर्कविहीन रहेको उनले जानकारी दिए। बाढी आएको १२औँ दिनमा एक चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको तथा हालसम्म ३९ वटा शव फेला परेको उनले बताए ।

त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’बाट ३९ जना सम्पर्कविहीन रहेको र खोज तथा उद्धारका क्रममा बाढीको १०औँ दिनमा कर्मचारी सञ्जय साह र कविर महर्जनको सकुशल उद्धार गरिएको मन्त्री श्रेष्ठले बताए ।

यसैगरी देवीघाट जलविद्युत केन्द्र, त्रिशूली–३ ‘बी’ हब, रसुवा वितरण केन्द्र तथा चिलिमे–त्रिशूली प्रसारण लाइनमा कार्यरत कर्मचारीसमेत सम्पर्कविहीन रहेको मन्त्री श्रेष्ठले संसदलाई जानकारी दिए । उनले बाढीका कारण जलविद्युत आयोजनाका भूमिगत संरचनामा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

मन्त्री श्रेष्ठले विपत्तिबाट भएको क्षतिबीच सरकार निराश नभएको भन्दै प्रभावित नागरिकको जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी भएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal