काठमाडौं । चलचित्रमार्फत राष्ट्रियता, इतिहास संरक्षण र जनचेतनाको अभियान सञ्चालन गर्दै आएका देशभक्त नायक, निर्माता तथा अभियन्ता नवल खड्का दुई दिनको अन्तरालमा दुई प्रतिष्ठित राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। साथै दुबै कार्यक्रममा सहभागि अतिथिहरुले भिमदत्त र काँडेतार चलचित्र अहिलेको समयमा हलमा चलाउँदा राम्रो सन्देश प्रवाह हुने भएकाले दर्शकलाई हेर्ने मौका दिनुपर्ने माग गरेका थिए ।
महान् सहिद भीमदत्त पन्तको जीवनसंघर्ष, बलिदान र योगदानलाई चलचित्र ‘भीमदत्तु’मार्फत नयाँ पुस्तासम्म पुर्याएको तथा उहाँलाई मृत्युपश्चात् सहिदको मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेको योगदानको उच्च कदर गर्दै अखिल मजदुर किसान महासंघले भीमदत्त स्मृति दिवसका अवसरमा खड्कालाई सम्मान गरेको हो।
काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डे र किसान संगठनका अध्यक्ष चित्रबहादुर श्रेष्ठले संयुक्त रूपमा सम्मान प्रदान गर्नुभएको थियो।
सम्मान ग्रहणपछि मन्तव्य व्यक्त गर्दै खड्काले महान् सहिद भीमदत्तलाई स्मरण गर्दै भन्नुभयो,
“कि त जोत हलो, कि त छोड थलो। बिना जोती हलो अब हुन्न भलो। जनतालाई रोटी, रोजी, कपडा दे, नत्र गद्दी छोडी दे।”
उहाँले यो नारा नभई जनताको अधिकार, सम्मान र न्यायको घोषणापत्र भएको उल्लेख गर्दै भीमदत्त पन्त अन्याय, शोषण र सामन्ती व्यवस्थाविरुद्ध जीवनभर संघर्ष गर्ने महान् जनयोद्धा भएको बताउनुभयो। उहाँले महान् सहिद भीमदत्तप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँका अधुरा सपना पूरा गर्नु नै सच्चा सम्मान हुने धारणा व्यक्त गर्नुभयो।
यसैगरी, देशभक्तिपूर्ण चलचित्र ‘काँडेतारु मार्फत सीमा सुरक्षा, सीमा नियमन तथा नेपाल–भारत सीमामा काँडेतार बार लगाउनुपर्ने विषयलाई राष्ट्रिय बहसका रूपमा स्थापित गर्दै व्यापक जनचेतना फैलाएको योगदानको कदरस्वरूप खड्का ुजनजागरण स्रष्टा सम्मान–२०८३ु बाट पनि सम्मानित हुनुभएको छ।
जन सांस्कृतिक महासंघ नेपाल, इन्द्रेणी सांस्कृतिक विकास केन्द्र र नारायणबाबु श्रेष्ठ स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा माननीय सरल सहयात्रीले उक्त सम्मान प्रदान गर्नुभएको थियो।
लगातार दुई दिनमा प्राप्त यी दुई सम्मानलाई चलचित्रमार्फत राष्ट्रियता, इतिहास संरक्षण, सीमा सुरक्षा र जनजागरणका क्षेत्रमा नवल खड्काले पुर्याएको योगदानप्रतिको उच्च सम्मानका रूपमा हेरिएको छ।


अनलाइन डबली



