
काठमाडौँ । दोस्रो काठमाडौँ महनगरपालिका उपमेयर कप उपत्यकाव्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता २०८३ हुने भएको छ । नेपाल एकायन कराँते संघले काठमाडौँ महानगरपाकिासँगको सहकार्यमा यही वैशाख १८ र १९ गते खुसिबुँस्थित बहुउद्देशीय मार्शल आर्ट्स केन्द्रको कभर्ड हलमा प्रतियोगिता गर्नेछ ।
खेल प्रतियोगिता बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा नेपाल एकायन कराँते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलले यस प्रतियोगितामा काठमाडौँ महानगरपालिाकभित्र सञ्चालित नेपाल एकायन कराँते संघका विभिन्न शाखा तथा विद्यालय प्रशिक्षण केन्द्रहरुका खेलाडीले सहभागिता जनाउने जानकारी दिनुभयो । उहाँका अनुसार १९० खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
यसैगरी दक्षिण एसियाली एकायनका उपाध्यक्ष शशि कपालीले विगतमा विभिन्न राष्ट्रियलगायत एसियाली एकायन कराँते, दक्षिण एसियाली एकायन र इन्डो–नेपाल एकायन प्रतियोगिता सम्पन्न गरिसकको जानकारी दिनुभयो ।
प्रतियोगितामा महिलातर्फ छ तथा पुरुषतर्फ आठ गरी कूल १४ तौल समूह रहेका छन् ।
एकायन नेपालमै सिर्जित कराँतेको एक विधा हो । नेपाल एकायत कराँते संघ २०७२ सालमा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको हो ।


बुद्धशरण शाही




