काठमाडौं । सुकुम्बासीहरु सरकारको विरोधमा नाराबाजीसहित प्रदर्शनमा उत्रिएका छन् । सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णय गरेसँगै घरबारविहीन बनेका सुकुम्बासीहरु विरोधमा उत्रिएका हुन् ।
काठमाडौँको थापाथलीसहित देशभरका सुकुम्बासी विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले डोजर आतंक बन्द गर, सुकुमवासी आवासको हक सुनश्चित गर, निरंकुश सरकार चाहिँदैन जस्ता नारा लगाउँदै सडकमा उत्रिएका छन् ।
प्रदर्शनकारीहरुले चुनावको बेला रास्वपाका सभापति रवि लामिछानेले सुकुमवासी बस्तीमा डोजर चलाए आफू छाती थाप्न जाने भन्दै गरेको भाषणलाई स्मरण गराउँदै छाती थाप्न आउन चुनौती समेत दिएका छन् ।
त्यसैगरी रास्वपाका अर्का नेता खगेन्द्र सुनारले सुकुम्बारी बस्तीमा डोजर चले आफू ‘डोजरको अगाडि उभिन….’ भन्दै भाषण गरेका थिए । सुकुम्बासीहरुले सुनार कता हराए ? भन्दै प्रश्न गरेका छन् ।
विभिन्न राजनीतिक दलका नेताहरुले विकल्पसहित सुकुम्बासीलाई उठाउनुपर्ने बताएका छन् । विना विकल्प नागरिकलाई सडकमा ल्याउन नहुने उनिहरुको भनाई छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार र आइतबार सुकुम्बासीलाई उठाउन सुरक्षा निकायले निर्देशन दिएपछि विहीबार साँझ नै काठमाडौँको थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन ‘माइकिङ’ गरिएको थियो ।
प्रधानमन्त्री शाहले पनि चुनावी अभियानको क्रममा झापाका सुकुम्बासी बस्तीमा पुगेर विना विकल्प उठिबास नलगाउने प्रतिवद्धता जाहेर गरेका थिए । अहिले प्रधानमन्त्री भइसकेपछि बोले फेर्दै जबरजस्त सुकुम्बासीलाई लखेट्न लागेको पीडितको आरोप छ ।
देशभरी करिब १२ लाख भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासी रहेको तथ्यांक सरकारसँग छ । वास्तविक सुकुम्बासीको उचित बसोबासको व्यवस्था नगरी तानाशाही ढंगबाट उठिबास लगाउन नहुने भन्दै सरकारको विरोध भइरहेको छ ।


अनलाइन डबली


