आज :

जुम्ला चिकित्सा शिक्षा अध्ययनको नयाँ गन्तव्य बन्दै, भारतसहित देशभरका विद्यार्थी पुगे

  • अनलाइन डबली

दान बहादुर बुढा –
मुगु । कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले चिकित्सा शिक्षा अध्ययनको महत्वपूर्ण केन्द्रका रूपमा देखिन थालेको छ । अध्ययन, अनुसन्धान र स्वास्थ्य सेवा प्रवाहका क्षेत्रमा सक्रिय रहेको प्रतिष्ठानमा अहिले भारतसहित नेपालका विभिन्न जिल्लाबाट विद्यार्थीहरू चिकित्सा शिक्षा अध्ययनका लागि पुगेका छन्।

देशका सुविधा सम्पन्न शहरहरू छाडेर दुर्गम मानिने जुम्लालाई अध्ययनको गन्तव्य बनाउने विद्यार्थीको संख्या पछिल्लो समय उल्लेख्य रूपमा बढ्दै गएको छ । अहिले प्रतिष्ठानमा भारतका ५ जना विद्यार्थी सहित नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न जिल्लाबाट १३० जना विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि जुम्लाको खलाङ्गा बजारस्थित जुम्लाको खलाङ्गा बजारस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन् ।

धनुषा, धरान, कैलाली, तनहुँ, प्युठान, नवलपरासी, धादिङ, कालीकोट, कञ्चनपुर, दैलेख, मोरङ, लमजुङ, पोखरा, रुपन्देही, रौतहट, बाँके, बैतडी, सुर्खेत, महोत्तरी, अर्घाखाँची, रुकुम पश्चिम, चितवन, सिराहा, बारा, मुस्ताङ, बझाङ, कपिलवस्तु, दाङ, म्याग्दी लगायत जिल्लाबाट आएका विद्यार्थीलाई मंगलबार स्वागत तथा अभिमुखीकरण कार्यक्रममार्फत औपचारिक रूपमा स्वागत गरिएको छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीका अनुसार नयाँ शैक्षिक सत्र २०८२ का लागि विभिन्न संकायमा गरी १३० जना विद्यार्थी भर्ना भएका छन्। जसअनुसार एमबीबीएसतर्फ ५० जना, नर्सिङतर्फ २० जना, बीएनएसतर्फ २० जना, बीपीएचतर्फ २० जना, बीएससी नर्सिङतर्फ २० जना र बी–फार्मातर्फ २० जना विद्यार्थी अध्ययन गर्न जुम्ला पुगेका छन् ।

उनका अनुसार मेडिकल काउन्सिलका विभिन्न लाइसेन्स परीक्षामा प्रतिष्ठानका विद्यार्थीहरूले शतप्रतिशत सफलता हासिल गरेपछि प्रतिष्ठानप्रति विद्यार्थी र अभिभावकको विश्वास बढ्दै गएको छ । सीमित स्रोत–साधन र राज्यको अपेक्षाकृत कम ध्यानका बाबजुद जुम्ला चिकित्सा शिक्षा अध्ययनको रोजाइ बन्नु गौरवको विषय भएको उनले बताए ।

गत वर्ष विभिन्न संकायमा १०४ जना विद्यार्थी भर्ना भएका थिए भने यस वर्ष २६ जना थपिएर संख्या १३० पुगेको छ । वर्षेनी विद्यार्थी संख्या बढ्दै जानुले जुम्ला चिकित्सा शिक्षा अध्ययनको केन्द्रका रूपमा स्थापित हुँदै गएको संकेत गरेको छ ।

प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले देशभरबाट आएका विद्यार्थीलाई स्वागत गर्दै कर्णालीलाई विश्वास गरेर अध्ययनको गन्तव्य बनाउनु प्रतिष्ठानका लागि गर्वको विषय भएको बताए । संघीय राजधानी काठमाडौंजस्ता सुविधा सम्पन्न विश्वविद्यालय छोडेर जुम्ला रोज्नुले प्रतिष्ठानलाई थप जिम्मेवार बनाएको उनले बताए। उनले यहाँ अध्ययन गर्ने विद्यार्थीलाई देशकै अब्बल जनशक्तिका रूपमा तयार पार्ने प्रतिबद्धता व्यक्त गरे ।

दाङबाट एमबीबीएस अध्ययन गर्न जुम्ला पुगेका विद्यार्थी अमय आचार्यले आफूले सुनेकोभन्दा देखेको जुम्ला निकै फरक रहेको अनुभव सुनाए ।
‘जुम्लामा राम्रो बाटो छैन, निकै दुर्गम छ भन्ने धेरैले भनेका थिए । तर यहाँ आएपछि त्यो भ्रम मात्रै रहेछ भन्ने लाग्यो,’ उनले भने, ‘जुम्ला चिकित्सा शिक्षा अध्ययनको केन्द्र मात्र होइन, भाषा, साहित्य, संस्कृति, जडीबुटी र प्राकृतिक सुन्दरताको अध्ययन गर्ने राम्रो थलो पनि रहेछ।’

विद्यार्थीहरूले अब ढुक्कका साथ अध्ययन पूरा गरेर दक्ष चिकित्सक बनेर फर्किने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal