
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार मतदान समग्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो ।
दोलखा, सर्लाही र रौतहटमा केहीबेर विवाद समेत भएको थियो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धामा छन् ।
प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भएको हो ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको थियो ।
१४३ अस्थायी मतदानस्थल तय भएका थिए । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको थियो ।


अनलाइन डबली

