
बाजुरा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा १ हजार ४८२ जना अस्थायी मतदाता कायम गरिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय बाजुराले आसन्न निर्वाचनलाई लक्षित गर्दै अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गरेको हो । अस्थायी मतदाता नामावलीमा सरकारी कर्मचारी तथा सुरक्षाकर्मीहरू समावेश छन् ।
अस्थायी मतदाताका लागि जिल्लामा एक मात्र मतदान केन्द्र तोकिएको छ । सदरमुकाम मार्तडी स्थित डिभिजन वन कार्यालयमा उक्त केन्द्र रहने भएको छ।अस्थायी मतदाताले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मात्र मत हाल्न पाउनेछन् । प्रत्यक्ष तर्फका उम्मेदवारलाई मतदान गर्न नपाइने व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
अस्थायी मतदाता नामावलीमा सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचनमा खटिएका कर्मचारी–सुरक्षाकर्मी, सरकारको स्वीकृतिमा सञ्चालित वृद्धाश्रममा रहेका व्यक्ति तथा आयोगले तोकेका अन्य व्यक्तिहरूको नाम समावेश हुने व्यवस्था छ ।
बाजुरामा प्रतिनिधि सभा निर्वाचनको तयारीमा लगभग पूरा भएको छ। बाजुरामा करिब ७ सय बढी निर्वाचन कर्मचारी खटाइएको छ । बाजुरामा ८७ हजार ८६१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । जसमा ४२ हजार ४३१ महिला, ४५ हजार ४२८ पुरुष र २ जना अन्य रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ ।
बाजुरामा ६२ मतदान केन्द्र अतिसंवेदशिल,१२ वटा संवेदनशील र ३ वटा सामान्य रहेको जिल्ला सुरक्षा समिति बाजुराका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए। बाजुरामा एक स्वतन्त्र सहित ७ दलका उम्मेदवार चुनावी मैदानमा छन् मुख्य गरी कांग्रेस, एमाले, नेकपा र रास्वपाबिच प्रतिस्पर्धा हुने भएको छ ।


अनलाइन डबली


