आज :

निर्वाचनमा अराजकता र ‘जेनजी’ प्रतिवेदनबारे दलहरूबीच आरोप–प्रत्यारोप

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता युपी लामिछानेले निर्वाचन न्यूनतम क्षतिमा सम्पन्न हुनुपर्ने बताएका छन् । एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सबै नागरिकले निर्धक्क रूपमा मतदान गर्न पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘सबैभन्दा कम क्षतिमा निर्वाचन हुनुपर्छ । कुनै पनि घटना घट्नु हुँदैन । सबै नागरिकले आफ्नो अभिमत दर्ता गर्न मतदान स्थलसम्म सहज रूपमा पुग्ने व्यवस्था मिलाइनुपर्छ । पार्टी कार्यालय तोडफोड गर्ने, झण्डा जलाउनेजस्ता गतिविधिमा बालबालिकालाई प्रयोग गरिएको छ । यस्ता गतिविधि राजनीतिक प्रतिशोधका रूपमा प्रयोग गर्नु हुँदैन ।’

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता समीक बडालले वर्तमान अवस्थामा लोकतन्त्र अराजकताका कारण चुनौतीमा परेको टिप्पणी गरे ।
उनले भने, ‘तत्कालीन राजाभन्दा पनि अहिले अराजकता र अराजकताका समूहका कारण लोकतन्त्र खतरामा परेको देखिन्छ । ‘जेनजी’को नाममा आन्दोलन भयो, जसमा १९ जनाले संसद् भवन अगाडि ज्यान गुमाए । त्यसको भोलिपल्ट हाम्रा सम्पदाहरू जले । आज लोकतन्त्रमा समस्या छ भने त्यसको कारण तत्कालीन राजा नभई वर्तमान अराजकता र त्यसको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको गतिविधि हो ।’

यसैगरी नेपाली कमयुनिष्ट पार्टी (नेकपा) का नेता सुदेश पराजुलीले गलत प्रवृत्तिविरुद्ध जनता जागेकै कारण ‘जेनजी विद्रोह’ भएको दाबी गरे । उनले पछिल्लो समय देशमा देखिएको प्रवृत्ति यो निर्वाचनबाट परास्त हुने बताए ।
उनले भने, ‘गलत र असत्य प्रवृत्तिविरुद्ध जनता जागेका हुन् । यही कारण यो निर्वाचन असत्यलाई पराजित गर्न र मुख्यतः ओली प्रवृत्तिलाई हराउनका लागि भइरहेको हो भन्ने कुरा बिर्सनु हुँदैन । पछिल्लो समय देशमा देखिएको प्रवृत्ति यो निर्वाचनबाट परास्त हुनेछ। संविधान र व्यवस्थाको संरक्षण गर्ने राजनीतिक दलहरूलाई जनताले निर्वाचनमार्फत स्थापित गर्नेछन् भन्ने विश्वास छ ।’

उता राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता रामप्रसाद भट्टराईले ‘जेनजी छानबिन समितिको प्रतिवेदन’ सार्वजनिक नहुनुमा शंका व्यक्त गरे । उनले निर्वाचनअघि प्रतिवेदन सार्वजनिक भए केही नेता प्रभावित हुने भएकाले रोकेको हो कि भन्ने आशंका रहेको बताए ।

उनले भने, ‘छानबिन समितिको प्रतिवेदन सार्वजनिक नहुनुमा कतै बार्गेनिङ त भइरहेको छैन भन्ने शंका छ । सरकार, छानबिन समिति र एमालेबीच कुनै सहमति भएको हो कि ? निर्वाचनअघि प्रतिवेदन सार्वजनिक भए केही नेता प्रभावित हुने भएकाले रोकेको हो कि भन्ने आशंका छ । एउटा झण्डा जलाएको विषयमा यति कडा प्रतिक्रिया दिनेहरूकै नेतालाई जेल पठाइयो भने निर्वाचन हुन दिन्थे त ? त्यसैले भदौ २२ अघि आएको घटनालाई बिर्सनु हुँदैन ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal