आज :

यस्तो छ कर्णालीको निर्वाचन लक्षित सुरक्षा योजना

  • अनलाइन डबली

सुर्खेत । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कर्णालीको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सुरक्षा रणनीति बनाइएको छ ।

निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित बनाउन आवश्यक सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको छ । कर्णालीमा नेपाल प्रहरीले सोही अनुसार आवश्यक जनशक्ति परिचालन गरेको जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मतदान केन्द्रको संवेदनशीलता मूल्याङ्कन गरी सुरक्षाकर्मी खटाउने योजना बनाएको छ ।

निर्वाचन सुरक्षाका लागि कर्णालीमा १४ हजार ७ सय १९ जना बढी प्रहरी जनशक्ति निर्वाचनमा खटिने प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । सीमावर्ती क्षेत्र तथा विगतमा विवाद देखिएका स्थानमा विशेष निगरानी बढाइएको छ भने कर्णालीको भूगोललगायत अन्य कारणले केही चुनौती देखिएका स्थानहरुमा थप जनशक्तिको लागि केन्द्रमा माग गरिएको जनाइएको छ ।

कर्णालीमा ६ सय बढी प्रहरी जनशक्ति अपुग भएपछि त्यसको पूर्ति गर्न केन्द्रसँग माग गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रामप्रकाश शाहले जानकारी दिए । कर्णालीका कतिपय स्थानमा सडकको अवस्था राम्रो नहुँदा निर्वाचन गराउन र मतपेटिका ल्याउनेबेला हुनसक्ने समस्यालाई मध्यनजर गरी सोहीअनुसार तयारी गरिएको छ । अति संवेदनशील केन्द्रहरूमा सुरक्षाको विशेष व्यवस्था गरिने प्रहरीले जनाएको छ ।

प्रदेशका हिमाली तथा दुर्गम जिल्लामा भौगोलिक कठिनाइ, विगतका निर्वाचनमा भएका विवाद, राजनीतिक प्रतिस्पर्धा र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मतदान केन्द्रको वर्गीकरण गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कर्णालीका विभिन्न जिल्लामा रहेका अन्य मतदान केन्द्रहरूलाई संवेदनशील र सामान्य श्रेणीमा पनि राखिएको छ । अतिसंवेदनशील केन्द्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा आवश्यक परे नेपाली सेनाको समेत परिचालन गरिने तयारी गरिएको छ ।

कर्णालीमा ९४१ मतदानस्थल र एक हजार ४३७ मतदान केन्द्र रहेका छन्, भने प्रदेशभर मतदाता १० लाख ३७ हजार २५० जना छन् । प्रहरीले प्रदेशका १० जिल्लामा ३५१ मतदानस्थलका ४४१ मतदान केन्द्रलाई अति संवेदनशील सुचीमा राखेको छ । निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायले जोखिम मूल्यांकन गरेपछि ती मतदान केन्द्रलाई अतिसंवेदनशील घोषणा गरिएको हो ।

प्रदेश प्रहरी कार्यालयले प्रदेशका एक हजार ४३७ मतदान केन्द्रमध्ये ३०१ सामान्य र ६५१ संवेदनशील सूचीमा राखेको छ । सोही अनुसार जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत सरोकारवाला निकायले मतदानस्थल अनुगमनलाई पनि तीव्र बनाएका छन् ।

कर्णालीमा अन्य जिल्लाको तुलनामा डोल्पाका अधिकांश स्थानमा निर्वाचन व्यवस्थापनका लागि हेलिकप्टरकै भर पर्नुपर्ने बाध्यता रहेको छ । भौगोलिक विकटताका कारण अधिकांश मतदान केन्द्रका लागि हेलिकप्टरकै सहायता लिनुपर्ने बाध्यता रहेको हो । निर्वाचनलाई लक्षित गर्दै मतदान सामग्री, सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारी ओसारपोसार गर्न हेलिकप्टरकै भर पर्नुपर्ने स्थिती रहेको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले बताए ।

उनका अनुसार भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण माथिल्लो डोल्पाका २३ मतदान केन्द्रमा निर्वाचन व्यवस्थापनका लागि हेलिकप्टर प्रयोग गर्नैपर्ने बाध्यता रहेको छ । उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाका शे–फोक्सुण्डो, छार्का ताङ्सोङ र डोल्पोबुद्धका बस्तीहरूमा सडक पहुँच नहुँदा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal