आज :

क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर

  • अनलाइन डबली

रामेछाप । मन्थली नगरपालिका–६ मा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछाप घेराउ गरेका छन् ।
प्रदर्शनका क्रममा गेटमा तोडफोडको प्रयास भएको भन्दै प्रहरीले अश्रु ग्याँस प्रहार गर्नुका साथै हवाई फायर गरेको छ ।
बुधबार साँझ जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका मृतक तथा घाइतेका आफन्तले कार्यालयको मूल गेटमा धक्का दिएपछि प्रहरीसँग ठेलाठेल भएको थियो । स्थिति नियन्त्रणबाहिर जान सक्ने भन्दै प्रहरीले ३ राउण्ड अक्सुल ग्याँस र १ राउण्ड हवाई फायर गरेको जनाएको छ ।
घटनापछि प्रदर्शनकारी झन् आक्रोशित बनेका छन् । बुधबार साँझ अबेरसम्म बसेको सर्वपक्षीय बैठकमा पनि क्षतिपूर्तिको विषयमा सहमति जुट्न सकेन। छलफलमा बस सञ्चालक कम्पनी पूर्वी अरनिको यातायात प्रालिका प्रतिनिधि उपस्थित नभएपछि निष्कर्षमा पुग्न नसकिएको प्रशासनले जनाएको छ ।
सहमति नजुटेपछि मृतकका आफन्तले बुधबार बिहानैदेखि मन्थली नगरपालिका–६ को आकाशे र भैंसेश्वर क्षेत्र हुँदै जाने मन्थली–खुर्कोट सडक अवरुद्ध गरेका थिए । सडक अवरुद्ध हुँदा सवारी आवतजावत पूर्ण रूपमा प्रभावित भएको थियो ।
काठमाडौँबाट मन्थली–खुर्कोट हुँदै पुष्पलाल राजमार्गमार्फत रामेछापको सिरिसे ढाँडे भएर ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको पूर्वी अरनिको यातायात प्रालिको यात्रुवाहक बस मंगलबार बिहान करिब १०ः४० बजे मन्थली नगरपालिका–६ स्थित बेनीघाट पुलनजिक अनियन्त्रित भई सडकबाट खसेर तामाकोसी नदीमा डुबेको थियो ।
उक्त दुर्घटनामा १२ जनाको घटनास्थलमै ज्यान गएको थियो भने चालकसहित ८ जना घाइते भएका थिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । दुर्घटनमा केही मानिसहरु हराइ रहेका छन् ।
मृतकका परिवारले प्रति मृतक २५ लाख रुपैयाँ क्षतिपूर्ति, घाइतेको सम्पूर्ण उपचार खर्च तथा दीर्घकालीन पालन–पोषणको व्यवस्था गर्नुपर्ने माग राखेका छन् । तर बस सञ्चालक कम्पनीले यातायात व्यवस्था ऐनअनुसार बिमाबाट ५ लाख रुपैयाँ, किरिया खर्चबापत ५० हजार रुपैयाँ तथा कम्पनीका तर्फबाट थप प्रति मृतक ३०÷३० हजार रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पीडित पक्षले अस्वीकार गरेको छ ।
क्षतिपूर्तिको विषयमा सहमति नजुटेसम्म आन्दोलन जारी राख्ने पीडित पक्षले चेतावनी दिएका छन् । जिल्लामा अवस्था तनावपूर्ण बनेपछि प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal