काठमाडौँ । नेपाली कांग्रेस फुटको डिलबाट बचेको छ । सभापति शेरबहादुर देउवा बुधबार विहान केही लचक भएपछि पार्टी फुटबाट बचिएको हो । विशेष महाधिवेशनका अगुवाकर्ता गगन थापा र विश्वप्रकाश शर्माको मागमा देउवा चलक भएका हुन् ।
प्रवक्ता प्रकाशशरण महतका अनुसार देउवा उम्मेदवारलाई टिकट दिने अन्तिम हस्ताक्षरको अधिकारसमेत अरूलाई हस्तान्तरण गर्न तयार भएका छन् । उनले थापा र शर्मासँग भएको छलफल सकारात्मक रहेको बताए।
महतले भने, ‘यदि टिकट वितरणमा प्रयोग हुने हस्ताक्षरले नै एकतामा समस्या ल्याउँछ भने र केन्द्रीय समितिले निर्णय गरेर अरू कसैलाई सो अधिकार दिँदा निर्वाचन आयोगमा कानुनी जटिलता हुँदैन भने सभापतिजी त्यो अधिकार छाड्न तयार हुनुहुन्छ।’
महतले देउवा समानुपातिक र राष्ट्रिय सभाको सूची सभापतिकै हस्ताक्षरमा गएको भएपनि अब आउने प्रत्यक्षतर्फको टिकटका सन्दर्भमा असन्तुष्टि भए नयाँ व्यवस्था गर्न तयार भएको बताए ।
देउवा लचक भएपछि थापा र शर्माले आफू निकटहरुसँग संवाद थालेका छन् । उनले कानुन व्यवसायीसँग पनि परामर्श गरिरहेको बताइएको छ ।
थापा निकट एक नेताका अनुसार पार्टी विभाजन हुने अवस्थामा आफूहरु पनि लचक हुने बताए । उनले विशेष महाधिवेशनको स्वमित्व लिन नेतृत्व तयार भएपछि आफूहरु पनि पछि हट्न तयार रहेको बताए ।


अनलाइन डबली



