काठमाडौं । एमाले–काँग्रेसले संसद पुनस्र्थापना गरे उनिहरुविरुद्ध पुनः सडकमा जाने मिराज ढुंगानाको संयुक्त जेनजी आन्दोलनले चेतावनी दिएको छ । शक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले संसद पुनस्र्थापना सम्भव नरहेको बताएका छन् ।
आन्दोलनका प्रवक्ता विर्जन विश्वकर्माले विघठित प्रतिनिधि सभालाई पुनस्र्थापनाको मुद्धाले आफूहरुलाई झस्काएको बताएका छन् । विश्वकर्माले जेनजीको बलिदानको बलबाट भएको परिवर्तनलाई संस्थागत गर्नुको सट्टा पुरानाहरु सल्बलाउनु आन्दोलनमाथिको धोकाको संकेत भएको जनाएका छन् ।
संयुक्त जेनजी आन्दोलनका कमाण्डर जेनजी सुनिल सिंहले पुनस्र्थापनाको विषय प्रतिगामी सोच र कदम हुने बताउँदै त्यसलाई कुनै पनि हालतमा रोक्नु पर्ने धारणा राखे । “विघठित संसद पुनस्थापना गर्नु भनेको चिहानमा पुगेको कंकाललाई जिवित गर्नु सरह हो, त्यसैले यसविरुद्ध हामी कडा आन्दोलनका लागि तयार बन्नुपर्छ” सिंहले थपे ।
जेनजी नर्गिस थापाले आफूहरुले जेनजीका माग पुरा गराउन निरन्तर सडकमा रहेको जानकारी दिईन् । जेनजी अमृत कुमार बोहोरालगायतले नयाँ र पुरानाहरु मिलेर जेनजी आन्दोलनको भावनालाई मार्न लागेको आरोप लगाए ।


अनलाइन डबली



