आज :

तीन महिनामै ८५ गाई–गोरु नियन्त्रण, तस्करीविरुद्ध मकवानपुर प्रहरीको कडा कारबाही

  • अनलाइन डबली

हेटौंडा । मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाई–गोरु तस्करीविरुद्ध सञ्चालन गरेको विशेष अभियानबाट उल्लेखनीय सफलता हात पारेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराको कमाण्डमा जेन्जी आन्दोलनपश्चात् पछिल्लो तीन महिनाको अवधिमा अवैध रूपमा ओसारपसार गरिँदै आएका ८५ वटा चौपाया (गाई–गोरु) नियन्त्रणमा लिइएका छन् ।
प्रहरीका अनुसार यस अवधिमा ६ वटा सवारी साधन र १० जना व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएका प्रहरी टोलीले विभिन्न स्थानमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा अवैध रूपमा ल्याइएका गाई–गोरुसहित व्यक्ति र सवारी साधन नियन्त्रणमा लिएको हो ।
प्रहरी अभिलेखअनुसार पहिलो कारबाही २०८२ साल असोज ३० गते गरिएको थियो। उक्त दिन ७ वटा गाई–गोरु, १ वटा सवारी साधन र ३ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो। त्यसपछि कात्तिक १३ गते २५ वटा गाई–गोरु, १ वटा सवारी साधन र १ जना व्यक्ति नियन्त्रणमा परेका थिए। कात्तिक १९ गते पुनः २२ वटा गाई–गोरु, १ वटा सवारी साधन र ३ जना व्यक्तिलाई नियन्त्रणमा लिइयो ।
यसैगरी पुस १३ गते ५ वटा गाई–गोरु, १ वटा सवारी साधन र १ जना व्यक्ति, पुस १४ गते फेरि ५ वटा गाई–गोरु, १ वटा सवारी साधन र १ जना व्यक्ति तथा पुस १७ गते २१ वटा गाई–गोरु, १ वटा सवारी साधन र १ जना व्यक्ति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार माथि उल्लेखित ६ वटा कारबाहीमध्ये पहिलो, दोस्रो र तेस्रो घटनामा तीनवटा मुद्दा दर्ता गरिएको छ । बाँकी घटनामा संलग्न व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार जरिवाना स्वरूप कारबाही गरिएको छ । नियन्त्रणमा लिइएका गाई–गोरुलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पशु सेवा कार्यालय, हेटौंडा पठाइएको प्रहरीले जनाएको छ ।
यसअघि आर्थिक वर्ष २०८०÷८१ मा एक वर्षको अवधिमा गाई–गोरु तस्करीसम्बन्धी जम्मा दुईवटा मात्र मुद्दा दर्ता भएको थियो। त्यस समयमा १५ वटा गाई, २२ वटा गोरु, पाँच जना व्यक्ति र दुईवटा सवारी साधन नियन्त्रणमा लिइएको तथ्यांक प्रहरीसँग छ। तर एसपी सुवासचन्द्र बोहोराले जिम्मेवारी सम्हालेयता मकवानपुरमा गाई–गोरु तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार देखिएको प्रहरीको भनाइ छ।
एसपी बोहोराले गाई–गोरु तस्करीलाई गम्भीर र संवेदनशील अपराधको रूपमा लिँदै नियन्त्रणका लागि प्रहरी निरन्तर सक्रिय रहेको बताएका छन्। उनका अनुसार नेपालबाट भारत हुँदै बङ्गलादेशतर्फ गाई–गोरु तस्करी हुने क्रम लामो समयदेखि रहँदै आएको भए पनि पछिल्लो समय निगरानी कडा पारिँदा तस्करहरू नियन्त्रणमा पर्न थालेका छन्।
मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाई–गोरु तस्करीविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै आगामी दिनमा अझ प्रभावकारी निगरानी, नियमित चेकजाँच र कडा कानुनी कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal